झापा । झापामा रुखमा बाँधिएका एक वृद्ध मृत फेला परेका छन्। झापा गाउँपालिका–१, लसुनास्थित आँपको रुखमा बाँधिएका ६० वर्षीय जतन सोरेन बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार मंगलबार राति अत्यधिक मदिरा सेवन गरेका सोरेन छिमेकी महादेव टुडुको घर नजिक गइ बर्बराउन थालेपछि स्थानीयहरूले उनलाई नियन्त्रणमा लिई घर नजिकैको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेका थिए। सोही अवस्थामा बाँधेर छाडिएका सोरेन बुधबार बिहान करिब ४ बजे मृत भेटिएका थिए।
घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले मृतकका २७ वर्षीय छोरा अनतलाल सोरेन, ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरेको छ। अन्य संलग्न व्यक्तिहरु फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीको भनाइ छ।
पक्राउ परेकाहरूमाथि ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाका बारेमा थप अनुसन्धान जारी रहेको छ।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया