काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली खेलाडीहरूको भविष्य सुरक्षित गर्न सरकारले खेल क्षेत्रमै दीर्घकालीन योजना र विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

भारतमा आयोजित ‘म्याट्रिक्स फाइटर नाइट’ को उपाधि जितेका एमएमए फाइटर रविन्द्र ढाँटलाई सम्मान गर्न राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन्।

advertisement

उनले खेल क्षेत्रले राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम भएको उल्लेख गर्दै खेलाडीहरूको प्रोत्साहन र सम्मानमा सरकार गम्भीर बन्नुपर्ने बताए।

‘खेलाडीहरूलाई प्रतियोगिता र तालिममा सहभागी हुने पर्याप्त अवसर दिनुका साथै आवश्यक सुविधा र संरक्षण दिइयो भने मात्र उनीहरूबाट ऐतिहासिक सफलता र कीर्तिमानको अपेक्षा गर्न सकिन्छ,’ राष्ट्रपति पौडेलले भने।

कार्यक्रममा राष्ट्रपति पौडेलले ‘बझाङको बाघ’ उपनामले परिचित ढाँटले देखाएको लगनशीलता, कौशल र समर्पणको प्रशंसा गर्दै उपाधि जितेर सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको उल्लेख गरे।

‘खेलकुदले केवल शरीर र मानसिक तन्दुरुस्ती मात्र होइन, व्यक्तित्व निर्माणमा पनि महत्त्वपूर्ण योगदान दिन्छ,’ उनले भने, ‘यसकारण अबको दिनमा सरकार र सम्बन्धित निकायहरूले खेल क्षेत्रमा थप सक्रिय र प्रभावकारी रूपमा काम गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु।’

राष्ट्रपतिले ढाँटको सफलतामा साथ, समर्थन र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि नेपाली खेलाडीहरूले यस्तै सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com