कञ्चनपुर । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टीभित्र उठाइने विषयहरू सार्वजनिकरूपमा छलफलमा ल्याउने अभ्यास अनुशासनविपरीत भएको स्पष्ट पारेका छन्।
शुक्रबार कञ्चनपुरमा आयोजित प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको पत्रकार प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै ढकालले पार्टीभित्र आलोचना र मत राख्ने अधिकार सबैलाई भए पनि त्यो अधिकार निर्धारित संरचना र फोरममा सीमित रहनुपर्ने धारणा व्यक्त गरे।
उनले भने, “केपी ओलीबिनाको एमाले बनाउन पाइन्छ, आफू नेतृत्वमा आउन पाइन्छ भन्ने कुरा गलत होइन। तर त्यो कुरा पार्टीभित्रको उपयुक्त स्थानमा उठाइनुपर्छ, अनावश्यक रूपमा सार्वजनिक गर्न मिल्दैन।”
ढकालका अनुसार, दुई कार्यकाल र ७० वर्षको उमेर हदबन्दी हटाउने निर्णय कुनै व्यक्तिविशेषका लागि होइन, सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीको समग्र छलफल र सहमतिबाट आएको हो।
उनले भने, “महाधिवेशनमा प्रतिस्पर्धा गर्न सबैलाई हक छ। तर, त्यसबारे सार्वजनिक रूपमा हल्ला फैलाई पार्टीलाई अन्योलमा पार्ने काम अस्वीकृत छ। विधि र विधान विपरीतको कार्य अनुचित, गैरजिम्मेवार र अनैतिक हुन्छ।”
ढकालले एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीप्रतिको विश्वास अझै बलियो रहेको दाबी गर्दै भने, “पार्टीभित्र हरेक नेता, कार्यकर्ता ओलीको नेतृत्व चाहन्छन्। तर बाहिर आएर विदेशी एजेण्डा र षड्यन्त्रसँग मेल खाने गतिविधि गर्नु पार्टी हितविपरीत हो।”
उनले एमालेको आगामी रणनीतिक योजना ‘मिशन ०८४’ का लागि पनि ओली नै नेतृत्वमा रहने निर्णय भइसकेको स्पष्ट पारे।
“यो विषयमा पार्टीभित्र सर्वसम्मत निर्णय भइसकेको छ,” ढकालले भने, “पार्टीको एकताबद्ध सोच अनुसार अबको यात्रामा ओलीकै नेतृत्वमा अघि बढिनेछ।”
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया