काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजना छिटो गतिमा अगाडि बढाउन निर्देशन दिएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) इञ्जिनियर अरुण रजौरियाको शपथ ग्रहण कार्यक्रममा बोल्दै मन्त्री खड्काले आयोजनालाई स्पष्ट कार्ययोजना, गुणस्तरीय काम र समयपालनासहित अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
उनले बूढीगण्डकीलाई रणनीतिक र राष्ट्रिय महत्वको आयोजना भन्दै पारदर्शिता, दक्षता र समयसीमा पालनामा कुनै सम्झौता नगर्न आग्रह गरे। साथै, सार्वजनिक–निजी साझेदारी मोडलमा अगाडि बढाउने विषयमा नीतिगत स्पष्टता र लगानी सुरक्षाको वातावरण सिर्जना गर्न नेतृत्वको पहिलो प्राथमिकता हुनुपर्ने बताए।
मन्त्री खड्काले १,२०० मेगावाट क्षमताको बहुउद्देश्यीय आयोजनाबाट विद्युत् उत्पादनसँगै सिँचाइ, बाढी नियन्त्रण, पर्यटन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान हुने उल्लेख गर्दै, निर्धारित लक्ष्य समयमै हासिल गरी मुलुक र जनतालाई प्रत्यक्ष लाभ दिलाउने वातावरण बनाउन जोड दिए ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया