धनगढी । सुदूरपश्चिम प्रदेश मानव अधिकार आयोगले कैलाली कारागारमा शुक्रबार राति भएको झडप घटनामा प्रशासनिक र सुरक्षाका गम्भीर कमजोरी देखिएको जनाएको छ।
मानव अधिकार आयोगका प्रमुख प्रकाशदत्त भट्टले शनिबार दिउँसो कारागारको निरीक्षण गर्दै कारागार व्यवस्थापनमा समन्वयको अभाव, सुरक्षा प्रणालीमा लापरवाही, क्षमता भन्दा बढी कैदीको थुप्रो तथा पारदर्शिता नभएको स्थानान्तरणले झडपको मुख्य कारण भएको बताएका छन्।
उनले थपे, “कारागारभित्रका अरु कैदीहरूको अवस्था सामान्य रहेको छ। घाइतेहरूको उपचारमा स्थानीय प्रशासनले सबै उपायहरू अपनाउनुपर्ने र उनीहरूको आफन्तलाई सहज रूपमा भेटघाटको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।”
भट्टका अनुसार, यसअघि कैदीहरूले असुरक्षित अवस्थाबारे संयुक्त निवेदन दिएको सूचना पाएपछि प्रशासनलाई सचेत गराइएको थियो।
कारागारको ब्लक ए मा रहेका कैदीहरूको समूहले भित्तामा फुटावट गर्दै ब्लक बी का कैदीमाथि आक्रमण गर्दा धनगढी–४ का भरत चौधरीको मृत्यु भई ४९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ र सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
झडपपछि कैदीहरूले कारागार नियन्त्रणमा लिएर सुरक्षाकर्मी तथा मानव अधिकार आयोगको टोलीलाई प्रवेशमा रोक लगाएका थिए। यस कारण शनिबार बिहानसम्म आयोगको टोली घटनास्थलमा प्रवेश गर्न सकेको थिएन। तर, अहिले स्थिति सामान्य भएको बताइएको छ।
घटनाको छानबिनका लागि जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। उक्त समिति घटनाको विस्तृत अनुसन्धान गरी प्रतिवेदन बुझाउनेछ।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया