काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ४ सिस्नेरीमा लामो समयदेखि अवैध रुपमा क्रसर उद्योग संचालन गरेको पाइएको छ। वि.सं २०४८ सालमा घरेलु तथा साना उद्योग बिभागमा स्थानीय रेशम बहादुर तामाङको नाममा दर्ता भएको गोर्वासी महादेव रोडा ढुंगा उद्योगको दर्ता प्रमाणपत्र देखाएर अहिले दिल बहादुर तामाङले अवैध क्रसर उद्योग संचालन गरेका हुन्। वि.सं २०८० साल माघ १० गते कम्पनी रजिष्ट्रारको कार्यलयमा गर्वासी सप्लायर्स एण्ड क्रसर उद्योग दर्तागरी सोही नाममा बिल समेत काटेर दैनिक ठूलो परिणाममा अबैध गिट्टी बिक्री भैरहेको स्थानीयको आरोप छ।
रेशम बहादुर तामाङले दर्ता गरेको गोर्वासी महादेव रोडा ढुंगा उद्योगसँग समेत क्रसर उद्योग संचालनको अनुमति छैन। दिलबहादुर तामाङले अबैध क्रसर उद्योग संचालनको विषयमा रेशम बहादुर तामाङले करिब २ वर्ष अगाडी दिलबहादुर तामाङलाई गोर्वासी महादेव रोडा ढुंगा उद्योग संचालनको लागि आफुले मञ्जुरीनामा दिएको बताए। उनले भने – “गोर्वासी महादेव उद्योगसँग ढुंगा खानी संचालनको अनुमति छ। मैले दिलबहादुरलाई ढुंगाखानी संचालनको लागि मञ्जुरीनामा दिएको हो। ढुंगा खानीको अनुमतीले क्रसर उद्योग संचालन गर्न मिल्दैन। तर, उनिहरुले क्रसर उद्योग संचालन कसरी गरिरहेका छन् त्यसबारे मलाई जानकारी छैन।”
दिलबहादुर तामाङका साझेदार समेत रहेका क्रसर उद्योगका संचालक तथा घरेलु तथा साना उद्योगका पुर्व कर्मचारी समेत रहेका बद्री अर्यालले रेशम बहादुर तामाङको नाममा दर्ता भएको गोर्वासी महादेव उद्योगसँग क्रसर संचालनको अनुमती भएको र सोही अनुमतिको आधारमा आफुहरुले क्रसर उद्योग संचालन गरेको बताए। उनले भने “हामीले रेशम बहादुरसँग क्रसर उद्योग संचालनको अनुमती भएकोले नै सम्झौता गरेर हामीले क्रसर उद्योग संचालन गरेका हौं।” उनले भने अनुसार सम्झौतामा क्रसर संचालनको सम्झौता भएको देखिँदैन। उनिहरुसँग ढुंगा खानीको अनुमती भएको तर, क्रसर उद्योग संचालनको अनुमती नभएको स्रोतको दाबी छ।
गण्डकी प्रदेशका निलम्बन सांसद तथा पुर्व मन्त्री दिपक मनाङ्गेको नामले चिनिने राजिब गुरुङको ७२ रोपनी क्षेत्रफलमा संचालन भएको छ। पटक-पटक स्थानीयले गुनासो गरेपनी स्थानीय सरकार र प्रहरीले बेवास्ता गरी निर्वाध रुपमा क्रसर संचालन गर्न छुट दिएको छ। नुवाकोट प्रहरी प्रमुख एसपी दुर्गा रेग्मीले कहिलेकाहीँ आक्कलझुक्कल अवैध ढुंगा गिट्टी बोकेको ट्रीपर समाते झै गर्ने गरेका छन्। नुवाकोट प्रहरीका प्रहरी इकाईहरुले मासिक रुपमा बुझाउँदै आएको घुस रकम समयमा नदिएपछी ढुंगागिटी लोड भएका ट्रीपर समात्न लगाउने गर्छन्। तर, प्रहरीसँग मासिक लेनदेनको कुरा मिलेपछि खुलेआम अबैध निकासी गर्न छुट दिने गरेको स्थानीयको आरोप छ। अबैध ढुंगागिटी निकासीमा सबैतिर सेटिङ हुँदा नुवाकोटमा स्थानीय सरकार, प्रहरी, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिका जनप्रतिनिधिले समेत आँखा चिम्लिने गरेका छन्।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार













प्रतिक्रिया