भक्तपुर । गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे’सँग भक्तपुर प्रहरीले समेत बयान लिएको छ।
प्रहरी वृत्त थिमी र जिल्ला सरकारी वकिल कार्यालयको टोलीले शुक्रबार दिव्यश्वरी टाउन प्लानिङस्थित बड्डा घटनासम्बन्धी सोधपुछ गरेको हो। भक्तपुर प्रहरीका एक अधिकृतका अनुसार, २०८१ भदौ १० मा चक्रेको योजनामा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको आरोपमा यो बयान लिइएको हो।
उक्त घटनामा रायमाझीले सोही समयमा दिएको जाहेरीमा ‘चक्रेको योजनामा आक्रमण’ भएको उल्लेख पाइएको अनुसन्धान टोलीले जनाएको छ। प्रहरीको भनाइअनुसार, चक्रेको निर्देशनमा सर्लाहीको हरिवन नगरपालिका–४ का २५ वर्षीय अजित खवासलाई खुकुरी प्रहारका लागि परिचालन गरिएको थियो। खवास गत वर्ष पक्राउ परेपछि छुटेका थिए।
गत साउन १५ मा चक्रेसहित उनको समूहका ४७ जना महाराजगञ्जस्थित साम्बाला होटलबाट पक्राउ परेका थिए। तीमध्ये १९ जनामाथि काठमाडौं प्रहरीले अभद्र व्यवहार मुद्दा चलाइरहेको छ।
गोर्खा छोप्राक निवासी चक्रे सन् १९९३ (२०५० साल) देखिनै अपराध र गुण्डागर्दीमा सक्रिय मानिन्छन्। उनी २०७४ वैशाख २६ मा पनि महाराजगञ्जबाट पक्राउ परेका थिए तर केही समयमै छुटेका थिए।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया