काठमाडाैं । कैलाली कारागारमा भएको कैदीबन्दीबीचको झडपपछि गृह मन्त्रालयले परिस्थितिलाई नियन्त्रणमा लिन गम्भीरतापूर्वक काम गरिरहेको जनाएको छ। गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार मन्त्रालयले घटनालाई नजिकबाट निगरानी गर्दै आवश्यक कदम चालिरहेको छ।
शुक्रबार राति भएको झडपमा एक कैदीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। घटनापछि शनिबार गृहमन्त्री लेखकले गृह सचिव र तीनवटै सुरक्षा निकायका प्रमुखसँग विस्तृत जानकारी लिई अवस्थाबारे समग्र समीक्षा गरेका छन्। छलफलमा परिस्थिति सहज बनाउनुपर्ने विषयमा विशेष जोड दिइएको सचिवालयले जनाएको छ।
गम्भीर घाइते एक कैदीलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ। यसका लागि गृह मन्त्रालयले नेपाली सेनाको सुर्खेतस्थित स्काई ट्रक धनगढी पठाइसकेको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कारागारको सुरक्षा थप कडा पारिएको जानकारी दिएका छन्। उनका अनुसार, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सम्भावित अप्रिय घटना रोक्न सुरक्षा व्यवस्था मजबुत बनाउने छन्। झडपमा घाइते भएका सबैको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि उनले बताए।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया