काठमाडौं । चक्रे मिलन (मिलन गुरुङ) नेतृत्वको समूहका १९ जनामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा तथा नैतिकता विरुद्धको अभियोगमा प्रहरी अनुसन्धान जारी छ।
गत साउन १५ गते साम्बाला होटलबाट चक्रेसहित ४७ जना पक्राउ परेका थिए। तीमध्ये १९ जनालाई थप पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको हो।
प्रहरीका अनुसार उनीहरूलाई ‘पटके कसुरदार’का रूपमा राखी अनुसन्धान प्रतिवेदन अदालतमा बुझाउने तयारी भइरहेको छ। यस प्रकारको अभियोगमा प्रमुख जिल्ला अधिकारीबाट म्याद लिएर अनुसन्धान भए पनि, पटके कसुरदार प्रमाणित भएपछि अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीका अनुसार चक्रे समूहका नौ जना यसै प्रकृतिका अपराधमा पटक–पटक संलग्न रहेको प्रमाण भेटिएको छ। “नौ जना बारम्बार एउटै कसुरमा फसिएका छन्, अब मुद्दा अदालतमा पेस गरिन्छ,” उनले बताए।
हाल काठमाडौँ प्रहरीको हिरासतमा रहेका आरोपीहरूमा चक्रे मिलन, गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन्।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता रामहरि काफ्लेले सबै आरोपितको बयान सकिएको बताए। प्रहरीबाट अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि सरकारी वकिलले काठमाडौँ जिल्ला अदालतमा अभियोग दर्ता गर्ने तयारी गरेको हो।
कानुन अनुसार पटके कसुरदारका रूपमा मुद्दा दायर गर्दा अदालतसमक्ष अतिरिक्त सजायको माग गर्न सकिन्छ।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार












प्रतिक्रिया