धनगढी । कैलाली कारागारमा भएको हिंसात्मक झडपका कारण एक जनाको मृत्यु र ४९ जना घाइते भएका घटनापछि ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले कारागार नियन्त्रणमा लिन सकिरहेको छैन।
घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाएर कारागारलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको र सुरक्षाकर्मी तथा प्रशासनका कर्मचारीलाई प्रवेश गर्न नदिएको छ। यस कारणले कारागारभित्रको वास्तविक अवस्था बाहिर आउन सकेको छैन।
मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार, कैदीबन्दीहरूले कैलाली प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाबाहेकका उच्च अधिकारीहरूसँग मात्र भेट गर्ने बताएका छन्। उनीहरूले गृह मन्त्रालय र कारागार विभागका प्रतिनिधिसँग मात्र वार्ता गरी आफ्ना माग राख्ने बताएका छन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी हमालले सुरक्षा कर्मीहरू हालसम्म कारागारभित्र प्रवेश गर्न नसकेको जानकारी दिएका छन्। आयोगको टोलीसँगै कारागार निरीक्षणमा जान तयारी भइरहेको उनले बताए।
घटनामा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उपचारका लागि काठमाडौं र सेती प्रादेशिक अस्पताल लगिएको छ।
कैलाली कारागारमा क्षमता भन्दा धेरै करीब सात सय कैदीबन्दी राखिएका छन्।
घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधिहरू रहेका छन्।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार













प्रतिक्रिया