चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी हुने विषय अहिले आफ्नो दलको प्राथमिकतामा नरहेको स्पष्ट पारेका छन्।
आइतबार चितवनमा पत्रकारहरूसँगको कुराकानीमा उनले सरकारले अपेक्षित ढंगले काम नगरेको कारण आलोचना गर्दा माओवादीलाई सरकार चाहिएकोजस्तो व्याख्या गर्नु गलत भएको बताए।
‘यो सरकारले राम्रो काम गर्न सकेको छैन। त्यसबारे आलोचना गर्दा हामी सत्ता लोभी भएको जस्तो अर्थ लगाउनु उचित हुँदैन। अहिले हामीलाई सरकारमा जाने कुनै योजना वा चासो छैन,’ प्रचण्डले भने।
उनका अनुसार, माओवादी केन्द्रले भदौको तेस्रो सातादेखि विगतमा स्थगित गरिएको जनअभियानलाई पुनः सुरू गर्ने र त्यसपछि केन्द्रीय समितिको बैठक बसेर नयाँ एजेन्डासहित अघि बढ्ने तयारी गरेको छ।
‘हाम्रो ध्यान अहिले सरकारमा जाने होइन, जनताको गुनासो सुन्न र ती समस्याको समाधानका लागि पहल गर्न केन्द्रित छ,’ उनले स्पष्ट पारे।
हालै सम्पन्न स्थायी समिति बैठकपछि पार्टी अझ एकताबद्ध भएको दाबी गर्दै उनले बैठकका निर्णयहरू अब कार्यान्वयनमा आउने बताए।
फरक प्रसंगमा, प्रचण्डले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेको जनाउँदै, त्यहाँ द्रुत गतिमा काम अघि बढाउन आवश्यक रहेको अनुभव आफूले गरेको बताए।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार












प्रतिक्रिया