काठमाडौं । आगामी आरोहण यामदेखि सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु हुने भएको छ । पर्यटन विभागका अनुसार आगामी भदौ १६ गतेदेखि आरोहण अनुमति लिने आरोहीले सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ कायम गरिएको शुल्क बुझाउनुपर्ने छ, जस अनुसार विदेशी नागरिकले सगरमाथा आरोहण गर्न १५ हजार अमेरिकी डलर हिमाली दस्तुर तिर्नुपर्ने छ ।

विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संशोधन गरेको पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार भदौ १६ गतेदेखि सगरमाथासहित अन्य हिमालमा आरोहणमा नयाँ सलामी दस्तुर लागु हुँदै छ ।

advertisement

नयाँ दस्तुर सगरमाथा र अन्य हिमालमा याम अनुसार फरक फरक तोकिएको छ ।” उहाँका अनुसार उचाइ अनुसार हिमाल आरोहण शुल्क बढेको हो । दस्तुर कम हुँदा हिमाल चढ्ने धेरै हुने र त्यही कारण सगरमाथालगायत हिमाली क्षेत्रमा फोहोर, प्रदूषण बढ्नुका साथै अत्यधिक भिड लाग्न थालेको छ । त्यसैले सरकारले एक दशकपछि हिमाल चढ्दा लाग्ने दस्तुर बढाएको हो ।

बढाइएको शुल्क अनुसार विदेशी पर्यटकले अब वसन्त याममा सगरमाथाको नर्मल रुट ९दक्षिणपूर्व० बाट आरोहण गर्न १५ हजार डलर बुझाउनुपर्ने छ । त्यस्तै शरद ऋतुमा आरोहण गर्न सात हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा तीन हजार ७५० डलर सरकारलाई बुझाउनुपर्ने छ । हाल शरद ऋतुमा पाँच हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा दुई हजार पाँच सय डलर लिने गरिन्छ ।

विभागका अनुसार सगरमाथाको दक्षिणपूर्वी रुटबाहेक अन्य रुटमा आरोहण गर्न वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुको पाँच हजार डलर र शिशिर र वर्षा ऋतुको दुई हजार पाँच सय डलर बुझाउनुपर्ने छ ।

त्यस्तै नेपाली आरोहीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा एक लाख ५० हजार रुपियाँ बुझाउनुपर्ने छ । शरद ऋतुमा ७५ हजार रुपियाँ र बाँकी याममा ३५ हजार रुपियाँ कायम गरिएको छ ।

सगरमाथा बाहेकका आठ हजार मिटरभन्दा माथिका अरू हिमालमा विदेशीका लागि वसन्तकालीन, शरदकालीन र अन्य याममा क्रमशः तीन हजार, एक हजार पाँच सय र ७५० डलर शुल्क निर्धारण गरिएको छ । हालसम्म यस्तो शुल्क एक हजार आठ सय, नौ सय र ४५० डलर रहेको छ ।

 

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com