काठमाडाैं । इजरायलले पुनः गाजामा भीषण आक्रमण गरी अल जजीराका पाँच पत्रकारको ज्यान लिएको छ। यस घटनापछि पत्रकार सुरक्षा समितिले यसलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भन्दै तीव्र निन्दा गरेको छ।
प्राप्त विवरणअनुसार इजरायली सेनाले गाजास्थित अल शिफा अस्पतालको बाहिर प्रेस क्याम्पमाथि हवाई आक्रमण गरेको थियो। आक्रमणमा अल जजीराका संवाददाता अनस अल शरीफ, मोहम्मद कारीकेह, क्यामेराम्यान इब्राहिम जहिर, मोआमिन अलिवा र मोहम्मद नौफलको मृत्यु भएको हो।
आक्रमणपछि इजरायली सेनाले विज्ञप्ति जारी गर्दै अनस अल शरीफलाई हमासको “आतंकवादी सेल” को प्रमुखका रूपमा आरोप लगाएको छ। उनी हमासका गतिविधिमा संलग्न भएको दाबी पनि सेनाले गरेको छ।
यो घटनाभन्दा केही समयअघि अनस अल शरीफले सामाजिक सञ्जाल “एक्स” मा गाजामा भइरहेको इजरायली आक्रमणबारे प्रत्यक्ष रिपोर्ट गरेका थिए। आफ्नो अन्तिम पोस्टमा उनले लेखेका थिए— “यदि मेरा यी शब्दहरू तपाईंले पढ्नुभयो भने जान्नुहोस्, इजरायलले मलाई मारेर मेरो आवाज दबाउन सफल भएको छ।”
गाजामा जारी संघर्ष सुरु भएदेखि अहिलेसम्म करिब दुई सय सञ्चारकर्मीको ज्यान गइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार













प्रतिक्रिया