काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो रिहाइको माग गर्दै दिएको निवेदन रुपन्देही जिल्ला अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ। अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा आज उक्त मुद्दाको सुनुवाइ हुँदैछ।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले साउन १९ गते रुपन्देही जिल्ला अदालतमा बैंक जमानतमार्फत रिहा गर्न माग गर्दै निवेदन दर्ता गराएका थिए। उनले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ दाखिला गरेको दाबी गरेका छन्।
गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनी भैरहवा कारागारमा बन्दी अवस्थामा छन्।
निवेदनमा लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानत लिएर रिहा गर्न र सोही ऐनको दफा ७१ अनुसार थुनामुक्त गर्ने आदेश दिन माग गरेका छन्। दफा ६८ मा अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सकिने व्यवस्था छ भने दफा ७१ मा मुद्दाको कारबाहीको जुनसुकै चरणमा थुनामा वा जमानतमा राख्न सकिने प्रावधान रहेको छ।
दफा ७१(१) अनुसार अदालतले प्रमाणको आधारमा आवश्यकता देखिएमा अभियुक्तलाई थुनामा राख्न वा जमानत लिन सक्नेछ। सुरुमा थुनामा नराखिएको वा जमानत नलिएको कारणले मात्र पछि थुनामा राख्न वा जमानत माग्न अदालतलाई बाधा नपर्ने पनि सो दफामा उल्लेख छ।
त्यस्तै, सोही दफाको उपदफा (२) अनुसार, थुनामा रहेका कुनै अभियुक्त दोषी होइन भन्ने प्रमाणित हुने पर्याप्त आधार भएमा, मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए पनि सुनुवाइ गरी अदालतले थुनाबाट मुक्त गर्ने आदेश दिन सक्ने व्यवस्था छ।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया