काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाबाट सन्तानलाई नागरिकता दिने उद्देश्यका साथ नागरिकता सम्बन्धी कानुन संशोधन अघि बढाइएको बताएका छन्।
सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता विधेयक २०८१ माथि भएको सैद्धान्तिक छलफलमा बोल्दै उनले सन्तानको पहिलो संरक्षक आमा हुने भएकाले आमालाई जिम्मेवार बनाइएको जानकारी दिए।
लेखकले भने, “यदि आमाले ‘मेरो सन्तान हो, बुवाको पत्ता छैन वा म ल्याउन सक्दिन’ भनी स्वघोषणा गरेमा त्यसको सन्तानलाई नागरिकता दिने मूल उद्देश्य हो। यसले महिलाको हक मात्र स्थापित गरेन, संविधानले संरक्षण गरेको महिला अधिकारलाई पनि सुदृढ बनाउँछ र सन्तानको हक पनि सुरक्षित गर्छ।”
उनले स्वघोषणा गलत प्रमाणित भएमा नागरिकतासम्बन्धी प्रश्न उठाउन र सजायको व्यवस्था समेत गरिएको बताए। नागरिकता नहुँदा धेरै बालबालिकाले शिक्षा र विकासमा समस्या भोग्नु परेको उनले बताए।
गृहमन्त्री लेखकले अंगीकृत नेपाली नागरिकता पाउने व्यक्तिले विदेशी नागरिकता नलिएको प्रमाण दिनुपर्ने प्रावधान रहेकोमा अब आमाले समेत स्वघोषणा गर्न सक्ने व्यवस्था विधेयकमा समावेश गरिएको जानकारी दिए।
“यदि बुवाको मृत्यु भइसकेको छ वा बुवा सहयोग नगरेको छ वा पुनः विवाह गरेर गएको छ भने पनि सन्तानले आमाको नामबाट नागरिकता पाउने व्यवस्था विधेयकमा समेटिएको छ,” उनले भने।
आमाको नामबाट नागरिकता दिने विषयमा सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिइसकेको अवस्थामा विधेयक अघि बढाइएको मन्त्री लेखकले बताए।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया