गाजा । आइतबार इजरायली हवाई आक्रमणमा परेर अल जजिराका चर्चित पत्रकार अनस अल–शरीफसहित उनका चार सहकर्मीको ज्यान गएको छ।

इजरायली सेनाले शरीफलाई लक्षित हत्या गरेको स्वीकार गर्दै उनलाई हमासको लडाकु समूहको नेतृत्व तथा इजरायलमाथि रकेट आक्रमणमा संलग्न भएको आरोप लगाएको छ। तर, कतार सरकारले सञ्चालित अल जजिराले यी दाबीहरू अस्वीकार गरेको छ। मृत्युअघि शरीफले पनि आफूविरुद्धका आरोपहरूलाई पूर्णतः खारेज गरेका थिए।

advertisement

अल जजिरा र गाजाका अधिकारीका अनुसार २८ वर्षीय शरीफ, तीन पत्रकार र एक सहायक पूर्वी गाजास्थित अल–शिफा अस्पताल नजिकैको टेन्टमा बसिरहेका बेला आक्रमणमा परेका थिए। सो हमलामा थप दुई जनाको पनि मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। सोमबार अस्पतालका स्वास्थ्यकर्मीहरूले स्वतन्त्र पत्रकार मोहम्मद अल–खाल्दी पनि त्यही हमलामा मारिएको पुष्टि गरेका छन्।

अल जजिराले शरीफलाई गाजाका सबैभन्दा साहसी पत्रकारमध्ये एक भन्दै, यो हत्या गाजामा कब्जा जमाउनुअघि आलोचक आवाजलाई दबाउने हताश प्रयास भएको टिप्पणी गरेको छ। अन्य मारिने पत्रकारमा मोहम्मद क्रेकेह, इब्राहिम जाहेर र मोहम्मद नौफल छन्।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै, “गाजा पट्टीमा पत्रकारहरूलाई जानाजानी निशाना बनाउनु कल्पनाभन्दा बाहिरको अपराध हो,” भनेका छन्।

इजरायली सेनाले भने विज्ञप्ति जारी गर्दै शरीफ हमासको नेतृत्वमा रहँदै इजरायली नागरिक र सैनिकमाथि रकेट आक्रमणका लागि जिम्मेवार रहेको दाबी गरेको छ। यसका प्रमाणका रूपमा गाजामा भेटिएका गुप्तचर विवरण उद्धृत गरे पनि सार्वजनिक गरेका छैनन्। उसले जानाजानी पत्रकारलाई निशाना बनाएको कुरा अस्वीकार गर्दै, मारिने अधिकांश व्यक्ति ‘प्रेसको आडमा’ काम गर्ने लडाकु भएको दाबी गरेको छ।

सोमबार, गाजाको शेख रदवान चिहानमा पत्रकारहरूको अन्तिम संस्कारका लागि ठूलो भीड जम्मा भएको थियो। साथी, सहकर्मी र आफन्तहरू आँसु र अँगालोमा सान्त्वना दिइरहेका थिए।

शरीफ यसअघि २०२४ मा इजरायल–हमास युद्धको कभरेजका लागि ‘ब्रेकिङ न्यूज फोटोग्राफी’ विधामा पुलित्जर पुरस्कार जित्ने रोयटर्स टोलीका सदस्य थिए। ‘कस्ट्स अफ वार’ परियोजनाअनुसार यो युद्ध पत्रकारहरूको लागि अहिलेसम्मकै सबैभन्दा घातक मानिएको छ।

हमासद्वारा सञ्चालित गाजा सरकारी मिडिया कार्यालयका अनुसार युद्ध सुरु भएयता २३८ पत्रकार मारिएका छन् भने ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स’ का तथ्यांकअनुसार कम्तीमा १८६ पत्रकारको ज्यान गएको छ।

संयुक्त राष्ट्रसंघका विज्ञ र एक प्रेस स्वतन्त्रता समूहले यसअघि नै शरीफको जीवन जोखिममा रहेको चेतावनी दिएका थिए। संयुक्त राष्ट्रसंघकी विशेष प्रतिवेदक आइरिन खानले गत महिना इजरायलका आरोपहरूलाई आधारहीन भनेकी थिइन्।

अल जजिराका अनुसार शरीफले आफ्नो मृत्यु भएमा प्रकाशित गर्नका लागि एउटा सन्देश छोडेका थिए, जसमा उनले लेखेका छन्, “म सत्यलाई जस्ताको तस्तै, बिना तोडमोड प्रस्तुत गर्न कहिल्यै हिचकिचाइनँ। आशा छ, मौन बस्नेहरूलाई परमेश्वरले देख्नुहुनेछ।”

गत अक्टोबरमा इजरायली सेनाले शरीफसहित ६ पत्रकारलाई हमास र प्यालेस्टिनी इस्लामिक जिहादको सदस्य भएको आरोप लगाउँदै सूची सार्वजनिक गरेको थियो। तर, ‘सिपिजे’ ले इजरायलले ती आरोप पुष्टि गर्ने कुनै प्रमाण नदिएको जनाएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com