कैलाली । कारागारमा भएको झडपमा मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव परिवारले बुझ्ने सहमति जनाएका छन्।

गत शुक्रबार राति कैलाली कारागारमा कैदीबन्दीहरूको समूहबीच भएको हिंसात्मक झडपमा चौधरीको मृत्यु भएको थियो। घटना पश्चात् शव बुझ्न अस्वीकार गर्दै आएको परिवार र जिल्ला प्रशासन कार्यालयबीच सोमबार भएको छलफलपछि सहमति भएको हो।

advertisement

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले हत्यामा संलग्न दोषीलाई कडा कारबाही गरिने र मृतककी १५ वर्षीया छोरीको निःशुल्क शिक्षाको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेपछि परिवारले शव बुझ्ने निर्णय गरेको छ।

मृतकका भाइ विजय चौधरीका अनुसार, ‘हाम्रो मुख्य माग हत्यामा संलग्नलाई पहिचान गरी कारबाही गर्ने र छोरीलाई निःशुल्क शिक्षा दिने हो। प्रशासनले यि माग पूरा गर्ने आश्वासन दिएपछि हामी शव बुझ्न तयार भयौं।’

छलफल पश्चात् परिवारले जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दर्ता गराएको छ। प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले अनुसन्धान अघि बढिसकेको जानकारी दिएका छन्। साथै, शव परीक्षण प्रक्रिया सेती प्रादेशिक अस्पतालमा सुरु भएको छ।

कारागारको ‘ए’ ब्लकमा रहेका कैदीबन्दीहरूले पर्खाल फोडेर ‘बी’ ब्लकमा रहेका चौधरी र अन्यमाथि आक्रमण गरेका थिए। झडपमा चौधरीको मृत्यु भएको साथै ४९ जना कैदीबन्दी घाइते भएका छन्।

घटनापछि कैदीबन्दीहरूले करिब ४० घण्टा कारागारभित्र प्रवेश नदिई विरोध जनाएका थिए। मानवअधिकार आयोगको पहलमा सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिएका थिए।

प्रमुख जिल्ला अधिकारी हमालले धनगढी उपमहानगरपालिकाले मृतककी छोरीको शिक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेकाले उनीहरूको सहयोगमा अन्य संघसंस्थाहरूसँग पनि समन्वय गर्ने बताए। सुदूरपश्चिम प्रदेश सरकारले पनि परिवारलाई ५ लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेको छ।

कारागार घटनाको अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ। समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू रहेका छन्।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com