काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकाललाई पदमा पुनः नियुक्त गर्न माग गर्दै दायर गरिएको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।
न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा ढकालको निवेदनमाथि छलफल भइरहेको छ।
ढकालले आफू रास्वपाको वैध महामन्त्री रहेको दाबी गर्दै सो पदमा काम गर्न पाउनु पर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका छन्।
यसअघि न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले विवादमा पर्ने निर्णय र पत्राचारसम्बन्धी सबै कागजातहरु अदालतमा पेश गर्न आदेश दिएको थियो।
त्यसअघि न्यायाधीश कुमार रेग्मीको इजलासले असार १२ गते रास्वपा र नेतृत्वसँग लिखित जवाफ माग गर्दै दुवै पक्षलाई अन्तरिम आदेश दिने या नदिने विषयमा छलफलका लागि बोलाएको थियो। तर अहिलेसम्म अन्तरिम आदेशबारे कुनै निर्णय आएको छैन।
ढकाललाई पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा २०८१ असार २६ गते पार्टीबाट निष्कासन गरिएको थियो। त्यसपछि उनले आफूलाई पार्टीबाट हटाइएको प्रति आपत्ति जनाउँदै आफू रवि लामिछानेको पक्षमा रहेको प्रतिक्रिया दिएका थिए।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया