काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देवघाट क्षेत्र विकास समितिका नवनियुक्त सात सदस्यीय पदाधिकारीहरूलाई नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्। समितिमा दुई जना महिला सदस्यसमेत समावेश छन्।
मन्त्री पाण्डेले देवघाट क्षेत्र गुरूकुलका गतिविधिले क्षेत्रको जीवन्तता कायम राखेको र त्यसलाई संरक्षण गर्न आवश्यक रहेको बताए। उनले भने, “यदि गुरूकुल हटाइयो भने यहाँ शून्यता हुनेछ। नयाँ पुस्तामा ज्ञान र चेतना ल्याउने वातावरण बनाउनु पर्नेछ।”
उहाँले देवघाटमा महाकुम्भजस्ता भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सम्भावना रहेको र वाग्मती तथा गण्डकी प्रदेश सरकारसँग सहकार्य गरी निजी क्षेत्रलाई आकर्षित गर्न सुझाव दिनुभयो।
देवघाटको भौगोलिक र सामाजिक महत्वलाई दृष्टिगत गर्दै मन्त्री पाण्डेले पर्यटन र सांस्कृतिक क्षेत्रलाई अझ उचाइमा पुर्याउन पदाधिकारीहरूलाई अनुकरणीय काम गर्न अपेक्षा राखे। “यो कुनै लाभको पद होइन, जिम्मेवारीको पद हो,” उनले जोड दिए।
कार्यक्रममा मन्त्रालयका सचिव हरि मैनालीले राजधानी नजिक रहेको देवघाटले पर्यटन तथा सांस्कृतिक क्षेत्रमा थप प्रगति गर्ने विश्वास व्यक्त गरे।
नवनियुक्त पदाधिकारीहरूमा अध्यक्ष ईश्वरीराज लौडारी, सदस्य चन्द्रमित्र पण्डित, लक्ष्मण सुवेदी, सालिकराम सापकोटा, यु कुमारी शर्मा, रामहरि पुडासैनी र इन्द्रमाया थापा मगर रहेका छन्।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया