काठमाडौँ । पूर्वमन्त्री निलम्बित सांसद मोहनबहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रविधि खरिद मामलामा तत्कालीन सचिव महेन्द्रमान गुरुङलाई जोगाउँदै आफूमाथि मात्र मुद्दा चलाइएको आरोप लगाएका छन्। विशेष अदालतमा बयान दिंदै बस्नेतले उक्त प्रकरणमा आफ्नो भूमिका भ्रामक रूपमा प्रस्तुत गरिएको बताए।

उनले भने, “सचिव महेन्द्रमान गुरुङले पनि प्रक्रियामा हस्तक्षेप गरेर विभिन्न कार्यक्रम थपेका थिए भने म मात्र मुद्दामा परेको छु। अख्तियारले मलाई पूर्वाग्रहका साथ आरोप लगाएको स्पष्ट छ।”

advertisement

बस्नेतले २०७४ भदौ २३ गते दूरसञ्चार प्राधिकरणको वार्षिक बजेट स्वीकृत गर्दा इन्टरनेशनल कल मोनिटरिङ र भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) नियन्त्रणका लागि उपयुक्त उपकरण र प्रणाली सञ्चालन गर्ने निर्देशन समावेश गरेको बताए। त्यस्तै, उनले सातवटै प्रदेशका २-२ जिल्लामा आईसीटी परियोजना सञ्चालन गर्ने कार्यक्रम समेत स्वीकृत गरेको जानकारी दिए।

टेरामक्स प्रविधि खरिद प्रक्रिया पनि मन्त्री बस्नेतको निर्देशनमा मात्रै नभई तत्कालीन सचिव गुरुङ र अन्य राज्यमन्त्री तप्तबहादुर विष्टले थप गरेको कार्यक्रम अन्तर्गत अघि बढेको उनले बताए। कोरोना महामारीमा निधन भएका विष्टसमेत यस मामलामा संलग्न रहेको उनी बताउँछन्।

पूर्वमन्त्री बस्नेतले भने, “मैले प्राधिकरणबाट आएको बजेटमा कुनै अनाधिकृत थप वा परिवर्तन गरेको छैन। उपकरण र प्रणाली सञ्चालन गर्ने कार्यक्रम थप गरी स्वीकृत गरेको हुँ।” उनले मन्त्रीको हैसियतले वार्षिक बजेट र कार्यक्रम स्वीकृत गर्ने अधिकार रहेको भन्दै आफूले त्यो सीमाभित्र काम गरेको दाबी गरे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ खर्ब ५१ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको आरोपमा बस्नेतसहित १६ जनामाथि मुद्दा दायर गरेको थियो। त्यसबारे उनी आफ्नो निर्दोषता साबित गर्ने तयारीमा छन्।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com