काठमाडाैं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्। उनले प्रतिनिधि सभाको रोष्टममै उभिएर आफू इमान्दार जनप्रतिनिधि भएको उल्लेख गर्दै स्वेच्छाले पद छोडेको घोषणा गरे।

खतिवडाले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ प्रावधानमा देखिएको विवादपछि राजीनामा दिने निर्णय गरेको स्पष्ट पारे। उनका अनुसार, विधेयकको मस्यौदा तयार गर्दा भएको त्रुटि आफ्नै वा समितिको कारणले नभए पनि, राजनीतिक र नैतिक जिम्मेवारी स्वरूप पद त्याग गरिएको हो।

advertisement

“२ वर्षे कुलिङ पिरियडको पक्षमा सुरुदेखि नै अडान लिएको थिएँ, समितिले पनि त्यही निर्णय गरी संसदमा पठाएको थियो। तर प्रतिवेदन लेख्ने क्रममा त्रुटि देखियो। म दोषी होइन, तर प्रश्नलाई पदभन्दा माथि राखेको छु,” खतिवडाले भने।

सरकारका उच्च पदस्थ कर्मचारीका लागि लागू हुने गरी तयार पारिएको कुलिङ पिरियड प्रावधानलाई निष्प्रभावी बनाउने किसिमको प्रतिवेदन समितिबाट पेस भएपछि, नेपाली कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। उक्त समितिले खतिवडालाई राजनीतिक र नैतिक दुवै हिसाबले जिम्मेवार ठहर गरेको थियो।

छानबिन प्रतिवेदनमा खतिवडाले मस्यौदा प्रतिवेदनमा हस्ताक्षर गरी सभामा पेस गर्दा समितिका सदस्यहरूसँग औपचारिक छलफल नगरेको, निश्चित व्यक्तिहरूसँग अनौपचारिक बैठक बसेर प्रतिवेदन पठाएको, र समन्वयकारी भूमिकामा कमी देखिएको उल्लेख गरिएको छ।

सुरुवातमा खतिवडाले पार्टीको निर्देशनअनुसार अघि बढ्ने बताएका थिए। तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको आग्रहपछि उनले मंगलबार राजीनामा दिएका हुन्।

कुलिङ पिरियड विवाद उजागर भएपछि नेकपा (एमाले) लगायतका सांसदहरूले पनि खतिवडालाई पदमा बसिराख्न नमिल्ने दबाब दिएका थिए।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com