राजस्थान । राजस्थानको दौसामा बुधबार बिहान भएको सडक दुर्घटनामा श्रद्धालुहरू बोकेको पिकअप भ्यान पार्किङ गरिएको ट्रेलर ट्रकमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ। दुर्घटना बिहान करिब ३:३० बजे बापी नजिकै भएको हो।

प्रहरीका अनुसार मृतकमध्ये धेरैजना उत्तर प्रदेशको इटावा जिल्लाका बासिन्दा हुन्। उनीहरू खाटुश्यामजी मन्दिरको दर्शन गरेर घर फर्किरहेका थिए।

advertisement

दौसाका जिल्ला कलेक्टर देवेन्द्रकुमार यादवले प्रारम्भिक विवरण दिँदै भने, “दुर्घटनामा घटनास्थलमै १० जनाको मृत्यु भएको छ। उपचारका लागि पठाइएका घाइतेमध्ये एक जनाले अस्पतालमा ज्यान गुमाएका छन्।” मृतकमध्ये सात बालबालिका र तीन महिला रहेको पुष्टि गरिएको छ।

दुर्घटनापछि एम्बुलेन्स, प्रहरी र स्वास्थ्यकर्मी तत्काल घटनास्थलमा पुगेर घाइतेको उद्धार कार्य सुरु गरेका थिए। गम्भीर घाइतेहरूलाई जयपुरस्थित सवाई मान सिंह अस्पताल पठाइएको छ भने अन्यको उपचार दौसा जिल्ला अस्पतालमा भइरहेको छ।

यसअघि, यही जिल्लामा तीन दिनअघि मात्र कार र ट्रेलर ट्रक ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो। उक्त घटनामा ट्रेलर अचानक दुई भागमा टुक्रिएर कारमा ठोक्किँदा दुई जनाको घटनास्थलमै र बाँकी तीन जनाको उपचारको क्रममा मृत्यु भएको थियो। ती पीडितहरू जयपुरमा प्रतिस्पर्धात्मक परीक्षा दिएर गाउँ फर्किरहेका थिए।

राजस्थानका मुख्यमन्त्री भजन लालले सामाजिक सञ्जालमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको तत्काल उपचार सुनिश्चित गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएका छन्। उपमुख्यमन्त्री प्रेम चन्द बैरवाले पनि शोक प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com