काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले असन्तुष्ट पक्षका युवाहरूलाई गुण्डागर्दी र बाहुबल प्रदर्शन नगर्न चेतावनी दिएका छन्।
बुधबार युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप भएको घटनापछि अध्यक्ष लिङ्देनले आफ्नो सम्बोधनमा भने, “तपाईंहरू युवाहरू नै पार्टीको भविष्य हो। पार्टीको भविष्यसँग हाम्रो भविष्य गाँसिएको छ। तपाईंहरू कसैको केटा होइन, हतियार होइन। कसैको झूठो कुरा मनपराएर रमाउने तत्व होइनौं। यदि कुनै कुरा प्रक्रियामा चित्त नबुझेको छ भने बन्द सत्रमा छलफल हुन्छ, सहमति नभए मतदानबाट निर्णय हुन्छ। तर गुण्डागर्दी र बाहुबलबाट कुनै कुरा चल्दैन, त्यसमा अग्रसर नहुन अनुरोध गर्दछु।”
अध्यक्ष लिङ्देनले सबैलाई शान्तिपूर्ण वातावरणमा अधिवेशन प्रक्रियालाई अघि बढाउन र छलफलमार्फत निर्णय लिन सहयोग गर्न पनि आग्रह गरे।
झडपका कारण अधिवेशन स्थगित गरिएको छ। लिङ्देनले औपचारिक रूपमा अधिवेशन स्थगन गरिएको घोषणा गरेका हुन्।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया