काठमाडाैं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले नेपालले काठमा आत्मनिर्भर बन्ने लक्ष्य राखेको बताएका छन्। बुधबार प्रतिनिधिसभामा सांसद सूर्य प्रसाद ढकालले प्रत्येक वर्ष वनका धेरै काठ कुहिरहेको र सरकारले यस विषयमा के योजना बनाएको हो भन्ने प्रश्न उठाएका थिए।
मन्त्री शाहीले जवाफमा भने, “चलेका र सुकेका रुखको व्यवस्थापन र प्रयोगलाई चालु बजेटले सम्बोधन गरेको छ। मन्त्रालयले यसका लागि विशेष कार्यदल बनाएको छ र कार्यदलको प्रतिवेदन आएसँगै नीति तथा कार्यक्रम कार्यान्वयन गरिनेछ।” उनले सरकारको प्राथमिकता नेपाललाई काठमा आत्मनिर्भर बनाउने रहेको स्पष्ट पारे।
सांसद ढकालले नदीले बगाएको काठ व्यवस्थापनबारे प्रश्न गर्दा मन्त्री शाहीले भने, “हाल वन कार्यालयले नदीबाट निकालिएको काठलाई व्यवस्थापन गर्दै आएको छ, तर आगामी दिनमा यसलाई कानुनी रूपमा अझ प्रभावकारी बनाउन आवश्यक सुधारहरू गर्ने योजना रहेको छ।”
वन र काठ व्यवस्थापनमा प्रभावकारी रणनीति लागू गरेर कुहिरहेको र जंगलमा फालेको काठको क्षति न्यूनीकरण गर्ने, साथ साथै काठको स्थानीय उत्पादन र उपयोग प्रवर्द्धन गर्ने उद्देश्यका साथ सरकारले दीर्घकालीन योजना अघि बढाएको मन्त्री शाहीले बताए।
विशेषज्ञहरूले वन सम्पदाको संरक्षण र काठको उपयोगमा सरकारको यस पहललाई सकारात्मक कदमका रूपमा मूल्याङ्कन गरेका छन्। उनका अनुसार, कुहिरहेको काठको सदुपयोग र नेपाललाई काठमा आत्मनिर्भर बनाउने रणनीति कार्यान्वयन भएमा आर्थिक लाभ र वातावरणीय सुरक्षा दुवैमा सुधार आउन सक्छ।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया