काठमाडाैं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा लालवीर चौधरीलाई मान्यता नदिएपछि पार्टीभित्रको बहुमत केन्द्रीय सदस्यहरू आन्तरिक रणनीति तय गर्न छलफलमा जुटेका छन्।
रेशम चौधरी पक्षका नेताहरूले आयोजना गरेको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएर लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको थियो। सो निर्णय आयोगमा पेस गरे पनि आयोगले मान्यता नदिई श्रेष्ठलाई नै अध्यक्ष कायम राख्ने निर्णय गरेको हो।
मंगलबार साँझ बसेको आयोगको बोर्ड बैठकले पार्टीको विधान र निर्णय प्रक्रिया अध्ययन गर्दा लालवीरलाई अध्यक्षको मान्यता दिनु उपयुक्त नदेखिएको निष्कर्ष निकालेको प्रवक्ता निकिता पोखरेल अर्यालले बताइन्। उनका अनुसार आयोगले यसबारे पत्र लालवीर र रञ्जिता दुवैलाई पठाइसकेको छ।
लालवीरलाई अध्यक्ष घोषणा गर्ने निर्णय आयोगमा पुगेपछि रञ्जिता श्रेष्ठले पनि निवेदन दिँदै उक्त निर्णय विधानविपरीत भएको दाबी गरेकी थिइन्। अन्ततः आयोगले उनको पक्षलाई मान्यता दिंदै लालवीरलाई अस्वीकार गरेको हो।
यसबीच, पार्टी नेता रामलाल डगौराले आयोगको निर्णयबारे संगठनभित्र गम्भीर छलफल भइरहेको बताए। अध्यक्ष कायम रहेकी रञ्जिता श्रेष्ठले पनि असन्तुष्ट पक्षसँग संवाद गरी पार्टीलाई एकताबद्ध बनाउने र रुपन्देही–३ को उपनिर्वाचनमा सम्पूर्ण ऊर्जा केन्द्रित गर्ने योजना बनाइरहेको बताइन्।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार












प्रतिक्रिया