काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सरकारमा छ भनेर गलत कार्यको विरोध नगर्ने सोच कांग्रेसको कहिल्यै नभएको स्पष्ट पारेका छन्।
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेस सरकारमा बाहिर हुँदा राम्रो कामको समर्थन गर्ने र सरकारमा रहँदा कमजोरीप्रति प्रहार गर्ने परम्परामा अडिग रहेको बताए।
शर्माले भने, “हामी सरकारमा नरहँदा पनि राम्रा कुराको समर्थन गर्छौं, र सरकारमा रहँदा पनि कमजोरीका विषयमा संसदभित्र र बाहिर समान रूपमा आवाज उठाउँछौं। अहिले हामी सरकारमा छौं तर सामाजिक सञ्जाल विधेयक जसको तस पारित हुनुपर्छ भन्नेमा हाम्रो स्पष्ट आपत्ति छ। संसदमा पनि बोलेका छौं, बाहिर पनि।”
उनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि पहललाई कांग्रेसले अस्वीकार गर्ने चेतावनी दिँदै, फोन ट्यापिङसम्बन्धी प्रावधान दुरुपयोग हुने भएकाले सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। सदनमा ३८ मिनेटको भाषणमा २५ विषयमाथि प्रश्न उठाएको भए पनि रास्वपामाथि केन्द्रित भएको भन्दै प्रचार गरिनु अन्यायपूर्ण भएको उनले टिप्पणी गरे।
राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बन्ने दौडमा आफू नरहेको प्रष्ट पार्दै शर्माले भने, “म सभापति बन्ने सोचमा भएको भए रामहरि खतिवडा बनेपछि पालो कुर्ने थिइनँ, पहिल्यै बन्थेँ, मन्त्री बन्न पनि सक्थेँ। कसैले गलत प्रचार गरिदिनुभयो। छलफलकै क्रममा रामहरिजीले छाड्नुपर्छ भनेको हो, र उहाँले राजीनामा दिँदा राम्रो सन्देश गएको छ।”
उनका अनुसार, समितिको सभापति समितिकै सदस्यबाट चयन हुने र पार्टीले चाँडै निर्णय गर्नेछ।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया