काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हावादारी गफ’ले देशलाई बर्बादीको दिशामा पुर्याएको आरोप लगाएका छन्।
संसद् भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीले यथार्थभन्दा टाढा रहि केवल गफमै सीमित हुने प्रवृत्ति अपनाएको दाबी गरे।
उनले भने, “म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालाको निर्माण कार्य नियालिरहेको छु, मैले सदनमा भनेको कुरा यथार्थमै आधारित छ। तर प्रधानमन्त्रीज्यूले त्यसलाई अनावश्यक रूपमा इस्यु बनाउनुभयो, जुन उचित छैन।”
प्रधानमन्त्री ओलीले हिजोमात्रै संसद्मा सम्बोधन गर्दै टियूको अवस्थाबारे संगै गएर अनुगमन गर्न प्रचण्डलाई निम्तो दिएका थिए। तर प्रचण्डले त्यसलाई राजनीतिक प्रपञ्च मात्र भएको टिप्पणी गरे।
“गफ दिँदा जे बोले पनि हुन्छ भन्ने सोच सही होइन। यथार्थ के हो भन्ने कुरा जनताले राम्रैसँग बुझेका छन्। प्रधानमन्त्रीज्यू धरातल छोडेर हावादारी गफमा रमाउनुभयो, जसका कारण देशको अवस्था अझ बिग्रिएको छ,” प्रचण्डको भनाइ छ।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया