काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ७ जना विरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको सुनुवाइ उच्च अदालत पोखरामा समयाभावका कारण स्थगित भएको छ। अदालतले आगामी बिहीबारका लागि नयाँ पेसी तोकेको छ।
बिहीबार उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा सुनुवाइ सुरु भए पनि प्रतिवादी पक्षका सबै कानून व्यवसायीको बहस पूरा हुन सकेन। अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरूका अनुसार बाँकी बहसका लागि अर्को मितिमा पेसी चढाइनेछ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले गत पुस २५ गते लामिछानेसहितका प्रतिवादीलाई विभिन्न रकम धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। सरकारी वकिलले उक्त आदेश गलत भएको दाबी गर्दै उच्च अदालतमा ७३ नम्बरको निवेदन पेस गरेका छन्। सोही क्रममा लामिछाने पक्षले पनि धरौटी नराखी साधारण तारेखमा छुटका लागि अपिल दायर गरेका छन्।
सरकारी वकिलका तर्फबाट सहन्यायाधीवक्ता रूद्रप्रसाद पन्थी, उपन्यायाधीवक्ता बुद्धिलाल श्रेष्ठ, तुलबहादुर खड्का, एकनारायण ढकाल तथा सहकारी पीडितका अधिवक्ता युवराज पराजुलीले प्रतिवादीलाई थुनामा राख्नुपर्ने तर्क गरे।
उता, लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण कँडेल र प्रतिवादी मिना गुरुङको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापाले साधारण तारेखमा रिहा गर्नुपर्ने माग राखे।
अदालतका अनुसार अर्को बिहीबार प्रतिवादी पक्षका बाँकी बहस पूरा भएपछि सरकारी वकिल र पीडित पक्षको जवाफ बहस हुनेछ। त्यसपछि आदेश आउने सम्भावना छ।
जिल्ला अदालत कास्कीले यसअघि लामिछानेलाई ६५ लाख, पूर्व डिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लिला पछाईंलाई ३७ लाख, आरती र मिना गुरुङलाई ५/५ लाख र कृष्णलाई १ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो। अदालतले प्रतिवादीहरूको नाममा सहकारीको रकम गएको ठहर गरेको छ।
यो प्रकरण सूर्यदर्शन सहकारीबाट गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम लगानी भएको दाबीबाट सुरु भएको हो। उक्त कम्पनीले ग्यालेक्सी टेलिभिजन सञ्चालन गरेको र लामिछाने त्यसको १५ प्रतिशत सेयरधनी तथा प्रबन्ध निर्देशक रहेका थिए।
संसदीय छानबिन समितिका अनुसार जिबी राई समूहले सञ्चालन गरेका ५ वटा सहकारीमार्फत २ अर्ब ५६ करोड रुपैयाँ कारोबार भएको र सो मध्ये ६५ करोड रुपैयाँ अपचलनमा लामिछानेको संलग्नता देखिएको छ।
छानबिनले सूर्यदर्शन सहकारीमा १८ हजार ७ सय जमाकर्ताको जम्मा १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ अपचलन भएको, गैरसदस्यलाई ऋण दिइएको र कम्पनीमा अवैध लगानी गरिएको निष्कर्ष निकालेको छ।
यो मुद्दामा लामिछाने, छविलाल जोशी, आरती गुरुङ, मिना गुरुङ, रामबहादुर खनाल, लिला पछाईं र विज्ञान राई प्रतिवादी छन्। सहकारीका तत्कालीन अध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, थानबहादुर बुढा, धीरजकुमार दासलगायत अझै फरार छन्।
यसै प्रकरणमा केही पूर्व पदाधिकारी र सञ्चालक समिति सदस्यहरू पूर्पक्षका लागि थुनामा छन्।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया