काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी सबै जात, भाषा र क्षेत्रका नागरिकको विश्वासको केन्द्र भएको बताएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सभापति देउवाले नेपाली कांग्रेसले आफ्नो आदर्श, मूल्य र मान्यताअनुरूप राष्ट्रियता, लोकतन्त्र र समाजवादमा प्रतिबद्ध रहँदै आदिवासी, दलित, महिला, मुस्लिम, पिछडिएका क्षेत्र तथा वर्गको सशक्तीकरणका लागि निरन्तर काम गर्दै आएको बताए।
सभापति देउवाका अनुसार, देशको तेस्रो ठूलो जनसंख्या भएको मगर जाति आदिवासी समुदायभित्र सबैभन्दा ठूलो समूह हो। “मगर समुदायलाई नेपाली कांग्रेससँग जोड्न तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले लोकतन्त्रवादी मगरलाई सङ्गठित गर्न बलियो भ्रातृ संस्थाको आवश्यकता महसुस गर्दै २०६४ सालमा नेपाल राष्ट्रिय मगर सङ्घ गठन गर्नुभएको थियो,” उनले भने।
देउवाले स्मरण गराए, नेपाल राष्ट्रिय मगर सङ्घले पार्टीका अन्य संस्थाभन्दा पहिला नै सङ्घीयताअनुरूप संगठनात्मक संरचना निर्माण गरी दोस्रो महाधिवेशन सम्पन्न गरेको थियो। उनले थपे, “मगर समुदायमा नेपाली कांग्रेसको नीति, विचार र सिद्धान्त पुर्याउन र समुदायको आवाजलाई पार्टीको आवाज बनाइदिन सङ्घले अझ बढी जिम्मेवारी निर्वाह गर्न आवश्यक छ।”
सभापति देउवाले आदिवासी जनजातिको छुट्टै पहिचान र सशक्तीकरणमा पार्टीको योगदान स्मरण गर्दै, आफ्नो नेतृत्वमा रहेको सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन गरी समावेशीकरणमा थप कदम चाल्दै आएको बताए।
पार्टीभित्र पछाडि परेका जात, क्षेत्र र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्न नेपाली कांग्रेसले कदमजम अभियान सुरु गरेको र कर्णाली, दलित, महिला, जनजाति तथा मधेसी समुदायको अधिकार र सहभागिता सुनिश्चित गर्दै देशकै समावेशी पार्टीको रूपमा विकास गरेको उनले औँल्याए।
सभापति देउवाले मगर समुदायको पार्टी नेतृत्वमा पर्याप्त प्रतिनिधित्व नहुँदा पनि नेतृत्व स्थापित गर्न सहयोग र समर्थन दिने आश्वासन व्यक्त गरे। साथै, नेपाली कांग्रेसकै नेतृत्वमा बनेको पहिलो जननिर्वाचित सरकारले निरंकुश राणा शासनविरुद्ध आवाज बुलन्द गर्दै सहादत प्राप्त गरेका लखन थापामगरलाई प्रथम सहिद घोषणा गरेको ऐतिहासिक तथ्य स्मरण गराए।
उनले कांग्रेसको नेतृत्वमा प्राप्त उपलब्धिहरू गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा दृढ रहेको बताए। आजदेखि सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न हुने कार्यक्रम तय भएको छ।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया