काठमाडौं । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले एमालेमा हाल कुनै गुट नभएको स्पष्ट पारेका छन्।

प्रेस चौतारी, ताप्लेजुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिंगो एमाले एकताबद्ध रहेको बताए। उनले देशको आवश्यकता अनुसार एमाले र नेपाली कांग्रेसको गठबन्धनसहित सरकार बनेको र आगामी निर्वाचनसम्म यही सरकार कायम रहने दोहोर्‍याए।

advertisement

‘देशमा विषम परिस्थितिका कारण गत वर्ष एमालेको नेतृत्वमा सरकार गठन भएको हो,’ भट्टराईले भने, ‘सरकारले मुलुकको आर्थिक स्थिति सुधार गरेको छ, अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाएको छ र विकासका काममा गति दिएको छ। कतिपय कानुनमा संशोधन पनि गरिएको छ।’

भट्टराईले संविधान संशोधनको क्रममा स्थानीय तहको संख्या घटाएर वडा संख्या बढाउने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने र संवैधानिक आयोगहरूको संख्या घटाउने सुझाव दिएका छन्।

उनले वर्तमान सरकारले मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढाएको र निजी क्षेत्रलाई प्रोत्साहन प्रदान गरेको उल्लेख गर्दै भने, ‘सरकारले लगानीका लागि वातावरण निर्माण गरेको छ। आर्थिक ऐनमा आवश्यक संशोधन र केही नयाँ कानूनहरू ल्याइएको छ। विदेशी लगानीलाई निरुत्साहित गर्ने कानुनलाई पनि संशोधन गरिएको छ।’

भट्टराईले जिल्लामा सञ्चालनमा रहेका वा आउन चाहेका ठूला विकास परियोजनामा कुनै पनि प्रकारको अवरोध हुन नहुनेमा जोड दिएका छन्।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com