काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानमाथि आक्रमण नगर्ने आश्वासन दिएका दाबी गरेका छन्।
स्थानीय समयअनुसार शुक्रबार फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भनेका छन् कि सी चिनफिङले उनलाई ‘जबसम्म तपाईं राष्ट्रपति हुनुहुन्छ, तबसम्म म ताइवानमाथि आक्रमण गर्दिनँ’ भनेर आश्वासन दिएको बताएका रोयटर्सले उल्लेख गरेको छ।
उक्त अन्तर्वार्तामा ट्रम्पले थपे, “चीन–ताइवान मामिलामा स्थिति गम्भीर हुन सक्थ्यो। तर मलाई लाग्दैन कि म राष्ट्रपति रहुन्जेल यस्तो आक्रमण हुनेछ। भविष्यमा के हुन्छ, हेरौँला।”
ट्रम्पको दोस्रो कार्यकालमा अप्रिलमा सीले उनलाई फोन गरेका थिए। तर, फोन भएको निश्चित मिति सार्वजनिक गरिएको छैन।
चीन ताइवानलाई आफ्नो भूभाग मान्छ र आवश्यक परे बलपूर्वक एकीकृत गर्न चाहन्छ। ताइवानले भने चीनको दाबीको विरोध गर्दै स्वतन्त्र रूपमा काम गरिरहेको छ। अमेरिका ताइवानको प्रमुख हतियार आपूर्तिकर्ता र अन्तर्राष्ट्रिय समर्थक भए पनि दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन।
वासिङ्टनस्थित चिनियाँ दूतावासले शुक्रबार ताइवान मुद्दा चीन–अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील विषय भएको बताउँदै अमेरिकी सरकारलाई ‘एक–चीन नीति’ र तीन संयुक्त घोषणाहरूको पालना गर्न आग्रह गरेको छ। दूतावास प्रवक्ता लिउ पेङ्गयुले भने, “ताइवानसँग सम्बन्धित मामिलालाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्नुपर्छ। चीन–अमेरिका सम्बन्ध र ताइवान जलमार्गमा शान्ति तथा स्थिरता इमानदारीपूर्वक रक्षा गर्न आवश्यक छ।”
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार













प्रतिक्रिया