दाङ । घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्रबहादुर शाहले दिएको राजीनामा औपचारिक रूपमा स्वीकृत भएको छ।
शाहले २०८० साल असार १२ गते नगर प्रमुख नरुलाल चौधरीसमक्ष राजीनामा बुझाएका थिए। करिब दुई वर्षपछि आइतबार बसेको कार्यपालिका बैठकले उक्त राजीनामा अनुमोदन गरेसँगै शाह पदमुक्त भएका हुन्।
नगर प्रमुख चौधरीका अनुसार राजीनामा आफूले गएको वर्ष नै स्वीकृत गरेको भए पनि कार्यपालिकाबाट औपचारिक निर्णय सोमबार मात्र गरिएको हो।
एमालेबाट निर्वाचित शाहले नगर बजेटप्रति असन्तुष्टि जनाउँदै पदत्याग गरेका थिए। आफ्नै पार्टीका मेयरले बजेट प्रस्तुत नगरेको भन्दै उनले असहमति प्रकट गरेका थिए।
पार्टी अनुशासन विपरीत गतिविधि गरेको आरोपमा एमालेले शाहलाई २०८१ माघमा कारबाही गरेको थियो।
शाहको राजीनामा स्वीकृत भएसँगै ज्येष्ठताका आधारमा चूडामणि चौधरीलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको छ। शाह २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका थिए।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया