काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वर्तमान राजनीतिक दलहरू पूर्ण रूपमा असफल भएको दाबी गर्दै अब राजसंस्थाको पुनर्स्थापना गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको घोषणा गरेका छन्।

आफू परम्परागत अर्थमा राजावादी नभई राष्ट्रवादी भएको उल्लेख गर्दै उनले भने, ‘देश र जनताको हितका लागि जरुरी परे राजालाई फर्काउन हामी तयार छौँ।’

advertisement

तीनकुनेमा गत चैत १५ गतेको घटनापछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै प्रसाईंले स्मरण गरे, ‘राजसंस्था ढाल्ने क्रममा सैनिक हिरासत भोगेको मान्छे म नै हुँ। त्यो बेला हामीले धर्म निभायौं। तर अहिले दलहरूले देश चलाउन नसकेकाले राजालाई फर्काउने जिम्मेवारी हामीमाथि आएको छ।’

उनले चैत १५ को आन्दोलन विफल हुनुमा राजावादी नेताहरूको हात रहेको आरोप लगाए। ‘आन्दोलन ध्वस्त कसले बनायो ? राजावादीहरूले नै ! धवलशमशेर र रवीन्द्र मिश्रजस्ता नेताहरू मञ्चमा आसन ग्रहण गरेर आन्दोलन भाँड्ने काम गरे, अनि दोष दुर्गा प्रसाईंलाई ? यस्तो अन्याय सहिँदैन,’ उनले भने।

प्रसाईंले आफू न राप्रपा भएको न त संकीर्ण अर्थमा राजावादी भएको प्रष्ट पारे। ‘म राष्ट्रवादी हुँ। राजा पनि राजावादी होइनन्, राष्ट्रवादी हुन्,’ उनले दोहोर्याए।

राजालाई भगवान रामसँग तुलना गर्दै उनले भने, “रामचन्द्र जंगल गएका बेला भरतले खरौ राखेर देश चलाएको ऐतिहासिक दृष्टान्त छ। अहिले पनि हामी त्यस्तै भूमिकामा तयार छौँ। राजा र देउता आफ्नो स्थानमा छन्, हृदयमा छन्।”

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com