काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले अधिकतम कूटनीतिक पहल जारी राखेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आज उनले परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि आफूले सरकारका तर्फबाट यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेको बताएका छन्। “ यो एक वर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तरराष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्तामा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरेकी छु । निरन्तर यो प्रयास भइरहेको छ”, मन्त्री डा राणाले उल्लेख गरेका छन् ।

advertisement

यसैगरी गत असोजमा दोहामा आयोजित ‘एसियन कोअपरेसन डाइलग’ (एसिडी) सम्मेलनमा सम्बोधन र त्यसपछिका साइडलाइन भेटहरूमा पनि उनले सो विषय उठाएकी थिइन् । इजरायल र हमासबीच युद्धविरामको तयारी भएपछि त्यसमा संलग्न र सम्बद्ध देशका विदेशमन्त्रीहरूसँग फोनमा र ती देशका नेपालस्थित राजदूतसँग भेटेरै डा राणाले विपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गरेकी थिइन्।

विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई निरन्तर रूपमा जारी राखेको बताउँदै मन्त्री डा राणाले इजरायल सरकार र हमासबीच युद्धविरामको गृहकार्य सुरु भएपछि तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरू रिहा गर्न दबाब दिएपछि आफ्नो कूटनीतिक पहललाई थप सक्रिय बनाएको स्मरण गरेकि छिन् ।

उनले गत माघमा कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी पहिलो चरणमै बिपिनको रिहाइका लागि आग्रह गरेकि थिइन्। खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन्।

यस्तै, इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरी मन्त्री डा राणाले सोही आग्रह गरेकि थिइन । त्यस क्रममा उनले हमासले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरूको पहिलो चरणमा नै विपिनको रिहाइका लागि इजरायल सरकारले पहल गरिदियोस् भन्ने आग्रह गरेकि थिइन।

यसैगरी, इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अति तथा इरानी विदेशमन्त्रीसँग फोनवार्ता गरी विपिनको रिहाइका लागि विशेष पहल गरिदिन नेपाल सरकारका तर्फबाट मन्त्री डा राणाले आग्रह गरेकि थिइन। आफ्नो शल्यक्रियाका लागि बैंककमा रहँदा मन्त्री डा राणाले त्यहीबाट इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरेकि थिइन्।

उनले मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग पनि गत फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमार्फत ध्यानाकर्षण गराएको जानकारी दिएकि छिन्। मन्त्री डा राणाले नेपाल सरकारले यो मुद्दालाई प्राथमिकतामा राखेर हरसम्भव प्रयासमा जुटिरहेको बताउँदै विपिनको रिहाइमा लागिपरेको इजरायल सरकार, इजरायली नागरिक, त्यहाँ रहेका नेपाली एवं विश्व समुदायलाई विशेष धन्यवाद ज्ञापन गरेकि छिन् ।

हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको शीघ्र रिहाइको पहलमा परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको र यो नेपाल सरकारको दायित्व भएकमो उनको भनाइ छ । हाल परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा विपिनकी आमा र बहिनी इजरायल पुगेका भन्दै मन्त्री राणाले इजरायली राष्ट्रपतिसँग भेटगरी विपिनको रिहाइको अपिल गरेको जानकारी पनि गराएको छ ।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com