काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरलाई पदच्युत गर्ने तयारी सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले औपचारिक रूपमा थालेका छन्।
मंगलबार बिहानै बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा यो मुद्दा मुख्य एजेन्डा बनेको छ। एक नेताका अनुसार बैठक उपसभामुख हटाउने विषयमै केन्द्रित छ। कांग्रेसले आफ्ना सांसदहरूलाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संसदीय दलमा उपस्थित रहन निर्देशनसमेत दिएको छ।
यसअघि सोमबार कांग्रेस र एमालेका प्रमुख सचेतकबीच पनि यसैबारे प्रारम्भिक छलफल भएको थियो। एमालेले समेत आज आकस्मिक संसदीय दल बैठक बोलाएको छ। त्यहाँ पनि उपसभामुख हटाउनेबारे छलफल हुने बुझिएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सांसदहरूसँग प्रत्यक्ष छलफल गर्ने कार्यक्रम पनि तय गरेका छन्।
राना मगरविरुद्ध कांग्रेस–एमालेले “आचरणसम्बन्धी प्रश्न” उठाउँदै दुई तिहाइको बहुमत जुटाएर हटाउने योजना बनाएका हुन्। प्रतिनिधि सभाको २७५ सदस्यमध्ये कम्तीमा १८४ सांसदको समर्थन आवश्यक छ। तर कांग्रेस (८८), एमाले (७८), जनता समाजवादी (७), लोसपा (४) र जनमत (६) को मत मात्र जोड्दा दुई तिहाइ पुग्दैन। त्यसैले उनीहरूले नेकपा (एकीकृत समाजवादी) को सहयोग लिन पहल थालेका छन्।
एकीकृत समाजवादीका १० सांसद छन्। तर दलका प्रवक्ता प्रकाश ज्वालाले अहिलेसम्म कुनै औपचारिक परामर्श नभएको र सत्ता पक्षलाई अनिवार्य रूपमा आफ्नो मत चाहिने स्थिति पनि नरहेको टिप्पणी गरेका छन्।
उपसभामुख राना मगर विगतमा अमेरिकी दूतावासलाई पत्र लेखी भिसा अन्तर्वार्ता सार्न आग्रह गरेपछि विवादमा परेकी थिइन्। सो पत्र सार्वजनिक भएपछि कांग्रेस र एमालेका केही सांसदहरूले संसदमै उनीविरुद्ध कडा आपत्ति जनाउँदै नैतिकताको आधारमा राजीनामा दिन माग गरेका थिए। त्यसबेला प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरीसमेत दर्ता भएको थियो।
त्यसको ठ्याक्कै एक वर्षपछि अहिले फेरि कांग्रेस र एमालेले उनलाई पदच्युत गर्ने निर्णयमा पुगेका हुन्। संवैधानिक परिषदमा उपसभामुख सदस्य रहने प्रावधान भएकाले पनि यो पदलाई निर्णायक मानिन्छ। परिषदमा सत्ता र प्रतिपक्ष बराबरी सदस्य रहने हुँदा संवैधानिक नियुक्तिहरू अड्किएको अवस्था छ। कांग्रेसले उपसभामुख पदमा आफ्नो दाबी रहेको भन्दै लामो समयदेखि जोड दिँदै आएको छ।
रास्वपाबाट सांसद बनेकी राना मगर २०८० मा उपसभामुख निर्वाचित भएकी थिइन्। त्यसबेला एमाले, माओवादी केन्द्र र रास्वपाको सहकार्यमा उनले पद हात पारेकी थिइन्। तर अहिले सत्ता समीकरण बदलिएसँगै उनको पद नै जोखिममा परेको छ।
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया