काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले उपसभामुख इन्दिरा रानाविरुद्ध पद अनुकुल आचारण नगरेको विषयमा प्रस्ताव ल्याउनुको कारण राजनीतिक आवश्यकतासँग जोडिएको बताएका छन्। उनले समयमै उचित कदम चाल्नु अपरिहार्य भएको र प्रक्रियालाई निरन्तरता दिइएको बताए।
शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद थापाले भने, “कुनै पनि विषयको उपचार वा कदम समय अनुसार लिनुपर्छ। अहिले आवश्यकता पर्यो, त्यसैले यो कदम चालिएको हो।”
उपसभामुखले दल छोडेको प्रमाण एक वर्षअघि सार्वजनिक भए पनि अहिले किन यो विषय उठेको भन्ने प्रश्नमा उनले बिरामीको उदाहरण दिँदै जवाफ दिए। थापाले भने, “मान्छेलाई खुट्टा वा टाउको दुख्छ, तर जब गम्भीर रोग पत्ता लाग्छ, त्यसपछि मात्र उपचार सुरु हुन्छ। यही प्रक्रिया यहाँ पनि लागु भएको हो।”
सांसद थापाले वर्तमानमा ‘समस्या पहिचान गर्ने’ चरणमा रहेको र त्यसपछिको कारबाही प्रक्रिया नियमानुसार अघि बढ्ने पनि स्पष्ट पारे। यसैबीच, नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखलाई पदबाट हटाउने तयारी गरिरहेका छन्।
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया