काठमाडौं । सत्तारूढ गठबन्धनले उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्ने प्रक्रिया तत्काल अघि नबढाउने निर्णय गरेको छ। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको बैठकले उपसभामुख राना मगर स्वदेश फर्केपछि मात्र यस विषयमा कदम चाल्ने सहमति गरेको हो।
नेताहरूले बैठकपछि दिएको जानकारीअनुसार हाल अमेरिका भ्रमणमा रहेकी राना मगर भदौ १३ गतेपछि मात्रै नेपाल फर्कने भएकाले सो समयपछि मात्र आवश्यक प्रक्रिया अघि बढाइनेछ।
बैठकपछि नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुखविरुद्ध अविश्वास प्रस्तावबारे कुनै छलफल नै नभएको स्पष्ट पारे। उनले सत्तारूढ दलबीच संसदीय कार्यलाई प्रभावकारी बनाउन, महत्त्वपूर्ण विधेयक अघि बढाउन र संसदमा देखिएको अवरोध समाधान गर्न साझा धारणा बनाउन छलफल भएको बताए। विशेषगरी भूमिसम्बन्धी विधेयकलाई छिट्टै सदनबाट पारित गर्ने विषयमा पनि सहमति भएको उनले जिकिर गरे।
बर्तौलाले उपसभामुखसँग सम्बन्धित प्रश्नहरूलाई समयमै खुला र पारदर्शी छलफलमार्फत निष्कर्षमा पुर्याइने बताए। उनले राना मगर देशबाहिरै रहेको अवस्थामा कुनै टिप्पणी वा निर्णय गर्नु उचित नहुने धारणा राखे।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा)का नेता वीरेन्द्र महतोले पनि उपसभामुख नेपाल फर्किएपछि मात्र यस विषयमा छलफल गरेर निर्णय लिइने बताए। उनका अनुसार बैठकमा विधेयकहरू समयमा नै पारित गर्ने र संसदलाई प्रभावकारी बनाउन सत्तारूढ दलहरूको भूमिकाबारे व्यापक छलफल भएको छ।
उक्त बैठकमा कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, लोसपा, जनमतलगायत दलका नेताहरू सहभागी भएका थिए।
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार












प्रतिक्रिया