काठमाडौं ।  स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशमा कानूनी व्यवस्था कमजोर हुँदै गएको र अराजकता बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले दुई तिहाइको सरकार गठन भए पनि अपराधका घटनाहरू बढेको र केहीमा सरकारकै संरक्षण हुन सक्ने आशंका व्यक्त गरे।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले आफ्नै जिल्ला सर्लाहीको हरपुर्वा–६ निवासी पूर्व शिक्षक रामपुकार रायको गोली हानी हत्या भएको घटनाबारे सदनलाई जानकारी गराए। उनले नागरिक सुरक्षाको अवस्था असन्तोषजनक रहेको र गृह प्रशासन मौन बसेको आरोप लगाए।

advertisement

सांसद सिंहले प्रश्न उठाए, “दुई तिहाइको सरकारमा अपराध घट्नुपर्ने हो, कानुन व्यवस्था मजबुत हुनुपर्ने हो। तर झन् अपराध बढेको छ। कतै सरकारकै संरक्षणमा अपराध त भइरहेको छैन?”

उहाँले प्रहरी महानिरीक्षकको तथ्यांक उद्धृत गर्दै आर्थिक वर्ष २०८१/८२ मा अपराध बढेको र दलितमाथि हुने हत्या, हिंसा र बलात्कारमा वृद्धि भएको बताए।

सिंहले दुई ठूला दलहरूले द्विदलीय पद्धतिको नाममा साना दललाई दबाउने काम गरिरहेको आरोप लगाए। उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टी होस् वा जनता समाजवादी पार्टी नेपाल, उनीहरूलाई तर्साउने प्रयास भइरहेकै छ।”

सांसद सिंहले न्यायालयमा राजनीतिक दलहरूको बढ्दो प्रभावलाई पनि नेपालको न्याय प्रणाली र लोकतन्त्रका लागि ठूलो खतरा भएको बताए।

उहाँले साना दलहरूलाई सचेत गराउँदै भने, “अर्को दल समाप्त हुँदा खुसी मनाउन सकिन्छ, तर तपाईंहरूको नियत पनि यही हुनेछ। देशमा दुई दल मात्र बाँकी रहँदा न लोकतन्त्र बच्नेछ, न साना दलहरू।”

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com