काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक दलहरू कहिल्यै पुराना नहुने बताएका छन्।
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले दलहरू समयसापेक्ष आफ्ना नीति–कार्यक्रमलाई अद्यावधिक गर्दै जाने भएकाले पुराना नभई जीवन्त रहने तर्क प्रस्तुत गरे।
उनले भने, “नेपालको राजनीतिमा पुराना पार्टी र पुरानो नेतृत्व अब काम लाग्दैन भन्ने खालको भाष्य निर्माण गर्ने प्रयास भइरहेको देखिन्छ। तर राजनीतिक दलहरू पुराना हुँदैनन्, उनीहरू इतिहास त हुन सक्छन् तर सदैव जीवन्त रहन्छन्, किनभने आफ्ना नीतिहरू निरन्तर अद्यावधिक हुन्छन्।”
महासचिव पोखरेलले विगतका राम्रा कामबाट सिक्नुपर्ने आवश्यकता औंल्याउँदै स्कुल अफ डेमोक्रेसीको उद्देश्य पनि यही रहेको बताए।
फरक प्रसङ्गमा उनले “दुई ठूला दल मिलेर साना दललाई पेल्न खोजेको” भन्ने आरोप अस्वीकार गरे। नीतिका आधारमा जनमतलाई ध्रुवीकरण गर्दै राजनीतिक स्थायित्वको खोजी गर्नुपर्नेमा उनले जोड दिए।
“एमालेलाई एमालेमै, कांग्रेसलाई कांग्रेसमै र माओवादीलाई माओवादीमै विश्वास गर्ने अवस्था आउनुपर्छ। म सधैं नीतिका आधारमा ध्रुवीकरण हुनुपर्छ भन्ने पक्षमा छु,” उनले स्पष्ट पारे।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया