काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राजनीतिको मेरुदण्ड आफैं भएजस्तो अनुभूति हुने गरेको बताएका छन्।
बुधबार काठमाडौँमा साहित्यकार बाबा बस्नेतका कृति रङ्गिन घरहरू, ढुङ्गामा आकार र आवाज लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन्।
‘म अहिले न सरकारको नेतृत्वमा छु, न त प्रधानमन्त्री नै’, उनले भने, ‘तर कतिपय बेला लाग्छ—राजनीतिको खाँबो मैले समातेको छु, यो खुकुलो पारें भने देश गर्ल्यामगुर्लुम ढल्ने हो कि जस्तो हुन्छ। सारा जिम्मेवारी मेरै काँधमा जस्तो महसुस हुन्छ।’
तर, उनले कहिलेकाहीँ यस्तो सोच मात्र हो भन्ने आत्मबोध पनि हुने गरेको सुनाए। ‘जीवन सीमित हुन्छ, मान्छे मर्छ, अर्को पुस्ताले गाडी चलाउँछ’, प्रचण्डले थपे, ‘तर जिम्मेवारीबोध भने अन्तिम क्षणसम्म पनि साथ छाड्दैन रहेछ।’
साहित्यप्रेमी भए पनि राजनीति र जिम्मेवारीका कारण साहित्यमा समय दिन नसकेको प्रचण्डको भनाइ छ। तर आफू प्रधानमन्त्री भएका बेला साहित्य र खेलकुद क्षेत्रमा विशेष प्राथमिकता दिएको दाबीसमेत गरे।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया