काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई कुनै विचार, लक्ष्य वा राजनीतिक आधार नभएको दलका रूपमा चित्रण गरेका छन्।
बुधबार राजधानीमा आयोजित स्व. प्रदीप गिरी स्मृति सभालाई सम्बोधन गर्दै उनले “त्याग, बलिदान, जेलनेल र संघर्षको इतिहास नभएको दलले छोटो समयमा ठूलो स्थान लिनु आफैंमा लोकतान्त्रिक गणतन्त्रप्रति प्रश्न उठाउने विषय हो” भन्ने टिप्पणी गरे।
पुनले भने, “हामीले समावेशिता, शिक्षा, स्वास्थ्य, पूर्वाधार, मानव अधिकारका क्षेत्रमा ठूलो परिवर्तन गरेका छौँ। तथ्यहरूले यसको पुष्टि गर्छन्। तर आज नेतामाथि प्रश्न उठिरहेको छ। हालै बनेको पार्टीले दशकौँको संघर्ष बोकेको माओवादीलाई उछिन्न थालेको छ। यो गम्भीर विषय हो।”
उनले रास्वपाप्रति संकेत गर्दै थपे, “त्यहाँ न विचार छ, न राजनीति, न लक्ष्य। त्याग, बलिदान, जेल–नेल, युद्धको कुनै इतिहास छैन। तर त्यसले जनतामाझ लोकप्रियता कमाएको छ भने यो हामी सबैका लागि प्रश्न हो। लोकतन्त्र र गणतन्त्रकै आधारमाथि उठेको प्रश्न हो, यसलाई हल्का लिनु हुँदैन।”
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया