काठमाडौं । नेकपा (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभापति रवि लामिछानेको नैतिकता र राजनीतिक आचरणमाथि तीब्र प्रश्न उठाएका छन्।
बिहीबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै भट्टराईले सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिलाई पार्टीको प्रमुख बनाउनु रास्वपाले नैतिकताको खिल्ली उडाएको आरोप लगाए। उनले संसदीय छानबिन समितिले लामिछानेमाथि अभियुक्तको रूपमा प्रतिवेदन पेश गरेको स्मरण गर्दै सोही व्यक्तिलाई पार्टीको नेतृत्वमा राख्नु न्यायसंगत नभएको बताए।
‘तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको समयमै संसदीय छानबिन समिति गठन भएको थियो। त्यतिखेर गृहमन्त्री रवि लामिछाने स्वयम् समिति बनाउन तयार हुनुभयो। तर प्रचण्डजीले त्यतिखेरै उनलाई सिस्नुपानी हान्नुभयो, अहिले भने मालिस लिँदै हुनुहुन्छ। यो डबल स्ट्यान्डर्ड हो,’ भट्टराईले भने।
उनले रास्वपाको संसद प्रति दोहोरो रवैया पनि उजागर गरे। ‘संसदमा नआउने, गतिविधिमा भाग नलिने तर संसदीय समितिमा मात्र बस्ने ? कुन कारबाहीमा सहभागि हुने, कुनमा नहुने ? यो स्पष्ट हुनुपर्छ,’ भट्टराईले प्रश्न गरे।
भट्टराईले रास्वपाको नारा ‘जान्नेलाई छान्ने’ माथि समेत प्रहार गर्दै सो पार्टीले छान्ने व्यक्तिहरू मानव बेचबिखन, ठगी, आर्थिक अपचलन र अन्य अनैतिक काममा संलग्न व्यक्तिहरू रहेको आरोप लगाए।
‘यस्ता गतिविधि देशलाई अराजकता र विघटनतर्फ लैजान्छ। नेपाललाई अर्को जेलेन्स्की चाहिँदैन, पपुलिजमले यहीँ पुर्याउँछ,’ उनले चेतावनी दिए।
सांसद भट्टराईले यस अवसरमा नेपालका वैधानिक र संसदीय व्यवस्थाप्रति रास्वपाको प्रतिबद्धतामाथि पनि गम्भीर शंका व्यक्त गरे। उनले नयाँ र वैकल्पिक शक्तिको दाबी गर्ने रास्वपाको नियतमा स्पष्टता आवश्यक रहेको बताए।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया