काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूले जनताप्रति जवाफदेही हुनुपर्ने बताएकी छन्। बिहीबार मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखिन्।
भण्डारीले वर्तमान दलहरूको कामकारबाही नजिकबाट नियाल्दै पूर्ण लोकतन्त्रको युगमा प्रवेश भए तापनि जनताको अपेक्षा पूरा हुन नसकेको बताइन्। “पार्टीभित्र विकृति र विसङ्गति फस्टाएको छ, तर त्यसलाई समाधान गर्न सकेको छैन। राजनीतिक दलहरूले देशमा सुशासन प्रवर्द्धन गर्नुपर्छ, तर संस्थागत हिसाबले सिस्टम र प्रणालीमा जान सकेका छैनन्। राज्य संयन्त्र पनि प्रणालीअनुसार सञ्चालनमा छैन, संसद् निरीह बनेको छ,” उनले भनिन्।
पूर्वराष्ट्रपतिले संविधान संशोधनको सहमति भए पनि समस्या समाधानमा छलफल नहुँदाको गुनासो गर्दै निर्वाचित जनप्रतिनिधिहरूले आदर्श अनुसार काम गर्नुपर्ने जोड दिइन्। उनले संसदका केही ठूला दलका नेताहरू निलम्बनको प्रक्रियामा परेका उदाहरण प्रस्तुत गर्दै, “जनताले निर्वाचित गरेका प्रतिनिधिहरू प्रमाणित नभएसम्म दोषी मान्न सकिन्न, तर निलम्बन भइरहेको छ, यो लोकतान्त्रिक प्रक्रिया होइन,” भनिन्।
भण्डारीले शिक्षा क्षेत्रमा पनि सुधार आवश्यक भएको उल्लेख गर्दै नयाँ पुस्ताको अपेक्षाअनुसार नीति बन्नुपर्ने र वर्तमान कपिपेस्ट शिक्षा प्रणालीले विद्यार्थीहरूलाई पलायनतिर धकेल्ने चेतावनी दिइन्।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया