काठमाडाैं । भारतले आफ्नै प्रविधिमा निर्मित मध्यम दूरीको ब्यालिस्टिक मिसाइल अग्नि–५ को सफल परीक्षण गरेको छ। रक्षा मन्त्रालयले बुधबार ओडिसाको चाँदीपुरस्थित परीक्षण केन्द्रबाट गरिएको प्रक्षेपण सफल भएको विज्ञप्तिमार्फत जानकारी दिएको हो।

अग्नि–५ मिसाइल पाँच हजार किलोमिटरभन्दा टाढासम्म प्रहार गर्न सक्ने क्षमतायुक्त छ र यसले आणविक वारहेड समेत बोक्न सक्छ। यसले भारतलाई चीनको कुनै पनि भूभागलाई निशाना बनाउन सक्षम बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

advertisement

यस मिसाइलको विशेषता भनेकै मल्टिपल इन्डिपेन्डेन्टली टार्गेटेबल रि-इन्ट्री भेहिकल (एमआईआरभी) प्रविधि हो, जसले एउटै प्रक्षेपणमार्फत धेरै लक्ष्यमा एकैपटक आक्रमण गर्न सक्ने क्षमता दिन्छ। यो प्रविधिको पहिलो परीक्षण भारतले २०२४ को मार्चमा गरेको थियो। पछिल्लो परीक्षणपछि मिसाइल वास्तविक युद्धमा प्रयोगयोग्य हुने स्तरमा पुगेको रक्षा विश्लेषकहरूले बताएका छन्।

चीनले यसअघि नै यस्तै प्रविधि भएको लामो दूरीको मिसाइल विकास गरिसकेको छ। तर, चीनका विदेशमन्त्री वाङ यी भारत भ्रमण गरेर दुवै मुलुकबीच सम्बन्ध सुधार गर्नुपर्ने धारणा राखेको केही दिनमै भारतले यो परीक्षण गरेको हो।

भ्रमणका क्रममा वाङले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटेर ‘भारत–चीनले प्रतिद्वन्द्वी नभई साझेदार बन्नुपर्ने’ कुरा उठाएका थिए। उनले आपसी सम्बन्धलाई उच्च गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए। जयशंकरले पनि भ्रमणलाई दुई देशबीचको सम्बन्ध समीक्षा गर्ने र आपसी हितका मुद्दामा छलफल गर्ने अवसरका रूपमा लिएको बताएका थिए।

यसै क्रममा चीनले भारतमा दुर्लभ खनिज पदार्थ, मल तथा सुरूङ खन्ने मेसिन निर्यातमा लगाएको प्रतिबन्ध हटाउने सहमति जनाएको समाचार आएका छन्।

विदेशमन्त्री वाङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलसँग समेत भेट गरेका थिए। छलफलमा दुवै देशका सैनिक संख्यामा कमी ल्याएर सीमा क्षेत्रमा तनाव घटाउने विषय पनि प्राथमिकतामा परेको थियो।

सन् २०२० मा गलवान उपत्यकामा भएको भिडन्तपछि भारत–चीन सम्बन्ध अत्यन्तै तनावपूर्ण बनेको थियो। सो भिडन्तमा २० भारतीय र ४ चिनियाँ सैनिकको ज्यान गएको थियो। तर पछिल्लो वर्षदेखि सम्बन्धमा केही सुधार हुँदै गएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि आक्रामक नीति अपनाएपछि भारतले चीनसँग सम्बन्ध सुधार्न थप सक्रियता देखाएको विश्लेषण गरिएको छ। यसै क्रममा मोदीले छिट्टै चीन भ्रमण गर्ने तयारी पनि गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कोभिड महामारीका कारण बन्द भएको भारत–चीनबीचको सीधा हवाई उडान पुनः सुरू गर्ने तयारीसमेत भइरहेको छ। आगामी सांघाई कोअपरेसन अर्गनाइजेसन (SCO) शिखर सम्मेलनका क्रममा यसको घोषणा हुनसक्ने अनुमान छ।

यसरी हेर्दा, भारतको अग्नि–५ परीक्षण केवल सैनिक शक्ति प्रदर्शन मात्र नभई चीनसँगको सम्बन्ध, अमेरिका–भारत–चीन त्रिकोणीय शक्ति सन्तुलन र आगामी कूटनीतिक समीकरणसँग पनि जोडिएको देखिन्छ।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com