काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले हिमाली तथा पहाडी जिल्लामा नियमित हवाई उडान गर्न टुइनेटर विमानको कमी मुख्य समस्या भएको बताएका छन्।
शुक्रबार सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशका लागि हवाई सेवा विस्तारबारे आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले दुर्गम जिल्लामा उडान नियमित गर्न विमानको अभाव बाधक बनेको स्पष्ट गरे।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश सरकारका मन्त्री तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी छलफलमा सुर्खेतलाई ‘टुइनेटर हब’का रूपमा विकास गर्ने प्रस्तावसमेत आएको थियो। मुख्यमन्त्री कंडेलले प्रदेश सरकारले सहकार्य गर्न तयार रहेको भन्दै संघीय सरकारले स्पष्ट कार्ययोजना बनाउनुपर्ने बताए।
सीता एयरलाइन्सका प्रतिनिधिले यात्रु अभावकै कारण नियमित उडानमा कठिनाइ रहेको उल्लेख गर्दै राज्यले विशेष सहुलियत दिनुपर्ने माग राखे। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सुर्खेत विमानस्थललाई प्रादेशिक हबका रूपमा विकास गर्ने सम्भावना रहेको बताए।
मन्त्री पाण्डेले हाल देखिएको टुइनेटर विमानको अभाव समाधान गर्न सातै प्रदेशका लागि सातवटा नयाँ विमान खरिद गर्ने प्रस्ताव अघि सारिएको जानकारी दिए। उनले भने, “नेपाल एयरलाइन्सका दुईवटा टुइनेटर जहाजका आधारमा मात्र समस्या समाधान हुँदैन, दीर्घकालीन सोचका साथ नयाँ विमान थप्नैपर्छ।”
उनका अनुसार मुलुकभर ५३ वटा विमानस्थल भए पनि सीमित जहाज मात्र सञ्चालन भइरहेका छन्। उनले चेतावनी दिँदै भने, “यदि टुइनेटर विमान थपिएनन् भने दुर्गम क्षेत्रका नागरिकको जीवन अझ कठिन बन्छ, किनकि हुम्ला र लुक्लाबाहेक धेरै विमानस्थल अहिले प्रायः निष्क्रिय बनेका छन्।”
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया