काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता एमालेले खोसेको नभई उनले स्वयं राष्ट्रपति हुनुअघि त्यागेको स्पष्ट गरेका छन्।
शुक्रबार च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भने, “खोसेको होइन, राष्ट्रपति बन्नकै लागि उहाँले आफैं सदस्यता छोडेर जानुभएको हो।”
उनका अनुसार भण्डारीले सदस्यता नवीकरणका लागि कुनै कदम नचालेको र पार्टीसँग त्यसबारे कुनै छलफल पनि नगरेको बताए। “पार्टीले किन सदस्यता खोस्छ? उहाँले आवेदन गर्नुभएको छैन, नवीकरणबारे कुरा पनि गर्नुभएको छैन। बाहिर टेलिभिजनमा बोलेर त सदस्यता नवीकरण हुने होइन,” ओलीले टिप्पणी गरे।
सदस्यता नवीकरण दर्ता चलानी शाखामा शुल्क बुझाउँदै मात्र हुने विषय नभएको प्रष्ट पार्दै उनले भने, “कार्यालयमा गएर शुल्क बुझाइदिँदैमा सदस्यता प्राप्त हुन्छ भन्ने छैन।”
ओलीले दुई कार्यकालसम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी नेताले कार्यकाल सकिएपछि पार्टीमा फर्केर यस्तो विवाद खडा गर्नेछन् भन्ने आफूले कहिल्यै कल्पना नगरेको बताए।
उनले भण्डारीमाथि चुनावमा पराजित भएका र पार्टीप्रति असन्तुष्ट रहँदै आएका व्यक्तिहरूलाई भेला गरी असन्तुष्टको समूह बनाउन खोजेको आरोप समेत लगाए। “पार्टीका सधैं असन्तुष्ट, कहिल्यै पार्टीको पक्षमा नबोल्ने र विभिन्न जनसंगठनका चुनावमा पराजित भएका मानिसलाई भेला गरेर असन्तुष्टहरूको जमात बनाउन खोज्नु भएको छ,” ओलीले भने।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया