काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्व व्यवस्थापन सम्झौतामार्फत मात्र सम्भव हुने बताएका छन्। उनका अनुसार, दुवै पक्षले आफ्नो अडानमा मात्र अडिग रहे समाधान निकाल्न सकिँदैन।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लेखकले भने, “जहाँ द्वन्द्व छ, त्यहाँ समाधान पनि हुन्छ। तर, त्यसलाई सहि ढंगले बुझ्नुपर्छ। द्वन्द्व व्यवस्थापन भनेको अन्ततः सम्झौता नै हो।”
उनले संविधान पनि द्वन्द्वरत पक्षहरूबीचको सम्झौताबाट बनेको स्मरण गर्दै भने, “यदि दुवै पक्षले लचिलोपन नदेखाए द्वन्द्व व्यवस्थापन असम्भव हुन्छ।”
संविधानलाई असफल बनाउने प्रयास भइरहेको भन्दै उनले त्यसो भए देश पुनः द्वन्द्वतर्फ धकेलिने चेतावनी दिए। तर संविधानलाई समयानुकूल संशोधन गर्दै यसको रक्षा गर्नु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो।
गृहमन्त्री लेखकले अधिकारको बाँडफाँटले समेत विभिन्न विवाद जन्माइरहेको बताउँदै त्यसको व्यवस्थापन अनिवार्य रहेको उल्लेख गरे। “अहिले पालिकामा प्राकृतिक स्रोतसाधनको वितरण र सीमासम्बन्धी विवाद देखिएका छन्। द्वन्द्वका धेरै रूप छन्—उत्पन्न भएका र सम्भावित दुवैलाई व्यवस्थापन गर्नुपर्छ,” उनले स्पष्ट पारे।
द्वन्द्व व्यवस्थापन सम्बन्धी अध्ययन–अध्यापन गर्नेहरूको संख्यामा वृद्धि भएको उल्लेख गर्दै उनले यस विषयमा छात्रवृत्ति कोटा बढाउन पहल गर्ने आश्वासन पनि दिए।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया