काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संघीय सरकारमा सहभागी आफ्ना दुई मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गर्ने तयारी गरेको छ।
पार्टीका एक पदाधिकारीका अनुसार खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता गरी नयाँ मन्त्री पठाउने निर्णय भएको हो।
‘सरकारमा जाने मन्त्रीलाई सुरुवातमै एक वर्षको कार्यकालका लागि मात्रै जिम्मेवारी दिइने भनिएको थियो,’ ती पदाधिकारीले बताए, ‘त्यसअनुसार अहिले उनीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी भएको हो। अध्यक्षज्यूले प्रधानमन्त्रीलाई नयाँ नाम समेत बुझाइसक्नुभएको छ।’
उनका अनुसार अध्यक्ष अशोक राईले खानेपानी मन्त्रालयमा वीरेन्द्र महतो र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा रञ्जु ठाकुरलाई नियुक्त गर्न प्रधानमन्त्रीलाई प्रस्ताव गरेका छन्।
यद्यपि मन्त्रिपरिषद् पुनर्गठन कहिले हुने भन्नेबारे प्रधानमन्त्रीले कुनै निश्चित समयसारिणी भने तय नगरेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया