काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा आवधिक निर्वाचन समयमै हुने परम्परामा कसैले हस्तक्षेप गर्न नसक्ने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले दक्षिण एसियाका धेरै मुलुकमा निर्वाचन समयमा नहुने प्रचलन भए पनि नेपालमा भने निर्धारित अवधिभित्रै निर्वाचन हुने गरेको स्पष्ट पारे। “हाम्रोमा निर्वाचन हुन्छ, फेयर हुन्छ, फ्रि हुन्छ,” थापाले भने।
उनले हाल सरकारले निर्वाचनसम्बन्धी कानुन संशोधन तथा एकीकरणका लागि ल्याउन लागेको विधेयकप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याए। निर्वाचन आयोगले प्रस्ताव गरेका केही प्रावधान हटाएर सरकार विधेयक अघि बढाउन सक्ने भन्दै उनले संसद्ले आवश्यक परेमा फेरि सुधार गरेर पठाउन सक्ने बताए।
थापाले उम्मेदवार छनोट प्रक्रियामा स्थानीय तहका पार्टी सदस्यलाई अधिकार दिने व्यवस्था सकारात्मक भएको बताए। साथै, निर्वाचनलाई अझै प्रभावकारी बनाउन मतदाता शिक्षाको विस्तारमा जोड दिनुपर्ने धारणा राखे।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया