काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आह्वान गरेका छन्। बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदका लागि उम्मेदवार चयन र उपसभामुख इन्दिरा रानामगरमाथि उठेका विवादबारे छलफल हुने भएको छ।

देउवाले सोमबार बिहान १० बजे आफ्नै निवास बुढानीलकण्ठमा बैठक बोलाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन्। प्रतिनिधिसभा सचिवालयले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनका लागि आइतबारै कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

advertisement

गत साउन २८ गते संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा अनियमितता भएको भन्दै आलोचना खेपेका समितिका तत्कालीन सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमै पदत्याग गरेका थिए। नियमावलीअनुसार पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने प्रावधान भएकाले सचिवालय आजै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारीमा छ।

यससँगै उपसभामुख इन्दिरा रानामगरमाथि पदीय आचरण विपरीत काम गरेको आरोप लगाउँदै कांग्रेस र एमालेका सांसदहरूले हस्ताक्षर संकलन गरिरहेका छन्। तर, कांग्रेसभित्रैका इतर धारका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उक्त पहलको विरोध जनाएपछि देउवाले छलफलका लागि बैठक बोलाएको बुझिएको छ।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com